
दाङ,२० जेठ ।
दाङको बंगलाचुली गाउँपालिका–३ स्थित तिखेचुली सिद्धमण्डली सामुदायिक वन क्षेत्रबाट प्रहरीले ४ नाल भरुवा बन्दुक तथा त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको छ।
प्रहरी चौकी रामपुर, दाङबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीको कमाण्डमा खटिएको टोलीले नियमित गस्तीका क्रममा उक्त हतियार तथा सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार मंगलबार गस्ती गर्दै जाने क्रममा सामुदायिक वनभित्र शंकास्पद अवस्थामा रहेका भरुवा बन्दुक र त्यसमा प्रयोग हुने सामग्री बरामद गरिएको थियो। बरामद गरिएका बन्दुकमध्ये २ नाल लोड अवस्थामा र २ नाल अनलोड अवस्थामा रहेको प्रहरीले जनाएको छ।
यससँगै प्रहरीले ११ वटा फलामका टुक्रा, १० वटा केप, ५२ वटा छर्रा तथा करिब ५० ग्राम बारुद पनि बरामद गरेको जनाएको छ। बरामद सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले हतियार कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ। घटनासँग सम्बन्धित व्यक्तिको खोजी तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रहरूमा गस्ती तथा निगरानी बढाइएको छ। अवैध हतियार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित रूपमा सुरक्षा अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध हतियार राख्ने, प्रयोग गर्ने वा ओसारपसार गर्ने कार्य कानुनविपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाही गरिने जनाएको छ। साथै, शंकास्पद गतिविधि वा अवैध हतियार सम्बन्धी कुनै सूचना प्राप्त भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।



लाइभदाङ । २० जेष्ठ २०८३, बुधबार २०:३१ बजे