फरार प्रतिवादी पक्राउ ।

दाङ,२० जेठ ।
जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले २०८३ वैशाख १६ गतेदेखि जेठ १९ गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा विभिन्न मुद्दामा संलग्न रही अदालतको फैसला पश्चात फरार रहेका ८ जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेका प्रतिवादीहरूबाट कुल १० हजार १०० रुपैयाँ जरिवाना असुल हुनुपर्ने तथा १ वर्ष १ महिना कैद सजाय बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।


प्रहरीले अदालतबाट फैसला भएका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ। साथै, अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्लाभर नियमित रूपमा खोजतलास तथा निगरानी अभियान सञ्चालन भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगामी दिनमा पनि फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइनेछ। कानुन कार्यान्वयन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रूपमा परिचालित रहेको जनाइएको छ।