कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस मनाइयो

भालुवाङ,१३ जेठ ।
दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा महान् सहिद कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस श्रद्धापूर्वक मनाइएको छ । राप्ती प्रेस मञ्चको आयोजना तथा कृष्णसेन इच्छुक स्मृति पार्क निर्माण समितिको सहआयोजनामा बुधबार पुल्चोकस्थित इच्छुकको शालिकमा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको हो ।

कार्यक्रम राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता, वरिष्ठ कवि अहमद अब्दुल रउफको प्रमुख आतिथ्यता तथा नागरिक समाज दाङका संयोजक निमबहादुर थापा विशिष्ट आतिथ्यता सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले कृष्णसेन इच्छुकले नेपाली समाज परिवर्तनका लागि साहित्य, पत्रकारिता र सांस्कृतिक आन्दोलनमार्फत पुर्‍याएको योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ कवि रउफले इच्छुकले साहित्यलाई समाज परिवर्तन र न्यायको संघर्षसँग जोडेको उल्लेख गर्दै उहाँका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले इच्छुकले देखाएको मार्ग केवल पत्रकारिताको बाटो नभई सामाजिक न्याय, समानता र परिवर्तनको बाटो भएको धारणा राख्नुभयो ।

नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले सहिदहरूको योगदानलाई राज्यले अझै उचित सम्मान गर्न नसकेको गुनासो गर्दै राप्ती उपत्यका देउखुरीमा रहेको इच्छुकको शालिक र पुख्र्यौली घरलाई व्यवस्थित सहिद पार्कका रूपमा विकास गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि इच्छुक नेपाली क्रान्तिका साहसी, प्रतिबद्ध तथा प्रगतिशील योद्धा भएको उल्लेख गर्दै उहाँले आफ्नो लेखनी र विचारमार्फत उत्पीडित वर्गको आवाज बुलन्द बनाएको स्मरण गरेका थिए । उनीहरूले वर्तमान पुस्ताले अन्याय, विभेद र विकृतिका विरुद्ध कलम चलाउन डराउन नहुने धारणा राखेका थिए ।

वक्ताहरूले पछिल्लो समय सार्वजनिक सम्पत्ति तथा सहिदहरूको शालिकमाथि भइरहेको तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए । लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा आवाज उठाउने व्यक्तिहरूलाई राज्यले संरक्षण गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

कार्यक्रममा सहभागीहरूले इच्छुकको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । सो अवसरमा नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारी, राप्ती उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेल, समाजसेवी लालमणि शर्मा, साहित्यकार जिवराज शर्मा, गोरखा आइडियल स्कुल लालमटियाका प्रधानाध्यापक बसन्त बहादुर पुन तथा मञ्चका प्रमुख संरक्षक महेश रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार, साहित्यकार, उद्योगी व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।