जिम्मेवार र संवेदनशील भएर काम गर्न नगर प्रमुख चौधरीको निर्देशन

प्रिया स्मृती गजमेर
लमही,१३ जेठ ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी ले लमही अस्पताललाई थप सेवामैत्री, व्यवस्थित र नागरिकको भरोसाको केन्द्रका रूपमा विकास गर्न अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीलाई जिम्मेवार र संवेदनशील भएर काम गर्न निर्देशन दिनुभएको छ ।

आज लमही अस्पतालमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख चौधरीले अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीले सहज, सरल र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अस्पताल केवल उपचार गर्ने थलो मात्र नभई नागरिकको आशा र विश्वासको केन्द्र भएकाले सेवा प्रवाहमा कुनै पनि कमजोरी हुन नहुने बताउनुभयो ।

नगर प्रमुख चौधरीले पछिल्लो समय अस्पतालका विषयमा बाहिर विभिन्न किसिमका टीका–टिप्पणी आउने गरेको उल्लेख गर्दै त्यस्ता कुराबाट विचलित नभई आफ्नो जिम्मेवारीप्रति इमान्दार भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

“हामीले आलोचनाभन्दा कामलाई प्राथमिकता दिनुपर्छ, राम्रो सेवा दिएपछि जनताले स्वतः अनुभूति गर्नेछन्,” उहाँले भन्नुभयो ।

उहाँले लमही अस्पतालले सीमित स्रोत–साधनका बाबजुद नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको योगदानको प्रशंसा समेत गर्नुभयो ।

पछिल्ला वर्षहरूमा अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको र सेवा विस्तारसँगै बिरामीको चाप समेत बढिरहेको उल्लेख गर्दै उहाँले अस्पताललाई थप प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा लमही नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केसीले स्वास्थ्य क्षेत्र नागरिकसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले अस्पतालको व्यवस्थापन, सेवा गुणस्तर र प्रशासनिक सुधारमा आफूले विशेष ध्यान दिने  बताउनुभयो ।


उहाँले अस्पताललाई थप व्यवस्थित र परिणाममुखी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुख लक्ष्मी योगीले अस्पतालमा आउने सेवाग्राहीलाई सम्मानपूर्ण व्यवहारसहित छिटोछरितो सेवा दिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता भएकाले अस्पतालले जनविश्वास कायम राख्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा अस्पतालको सेवा प्रवाह, व्यवस्थापन सुधार, स्वास्थ्यकर्मीको जिम्मेवारी तथा बिरामीमैत्री वातावरण निर्माणका विषयमा छलफल भएको थियो ।

सहभागीहरूले अस्पतालमा पछिल्लो समय सेवा विस्तार हुँदै गएको, जनशक्ति व्यवस्थापनमा सुधार भइरहेको तथा नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन विभिन्न प्रयासहरू अघि बढाइएको बताएका थिए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्यहरू सुवाश न्यौपाने, अजय न्यौपाने, सन्तोष बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्मा, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुदीप चौधरी, अस्पताल प्रशासन प्रमुख रेश्मा थापा लगायतको उपस्थिति रहेको थियो ।

लमही अस्पतालले पछिल्लो समय ओपिडी सेवा, आकस्मिक उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायत विभिन्न स्वास्थ्य सेवामा सक्रियता बढाउँदै आएको छ ।

स्थानीय नागरिकले पनि सहज उपचार सेवा पाउन थालेपछि अस्पतालप्रति विश्वास बढ्दै गएको बताएका छन् । नगरपालिकाको चासो, अस्पताल प्रशासनको सक्रियता र स्वास्थ्यकर्मीहरूको समन्वयले आगामी दिनमा लमही अस्पताललाई अझ प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य संस्थाको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।