मल अभावले किसान मर्कामा, समस्या समाधान गर्न सांसद विश्वकर्माको सरकारसँग माग

प्रिया स्मृती गजमेर
देउखुरी, १२ जेष्ठ ।

लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले किसानहरूले मल तथा बिउको अभावका कारण गम्भीर समस्या भोगिरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको छ । लुम्बिनी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले खेती गर्ने अत्यन्त महत्वपूर्ण समयमा किसानले आवश्यक कृषि सामग्री नपाउँदा उत्पादनमा प्रत्यक्ष असर परेको बताउनु भएको हो ।

उहाँले नेपाल जस्तो कृषि प्रधान देशमा किसान नै राष्ट्रको मेरुदण्ड भए पनि व्यवहारमा किसानहरू सधैं उपेक्षित बन्नुपरेको गुनासो गर्नुभयो । “खेती लगाउने मुख्य सिजनमै किसानले मल र बिउका लागि लाइन बस्नुपर्ने अवस्था अत्यन्त दुःखद हो,” सांसद विश्वकर्माले भन्नुभयो, “समयमै मल नपाउँदा रोपाइँ ढिलो भइरहेको छ भने कतिपय किसानले महँगो मूल्यमा कालोबजारीमार्फत मल खरिद गर्न बाध्य भएका छन् ।”


उहाँका अनुसार अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा किसानहरूले युरिया, डीएपी लगायतका रासायनिक मल सहज रूपमा नपाएको गुनासो गरिरहेका छन् । विशेषगरी धान रोपाइँको तयारी भइरहेका बेला मल अभाव चुलिँदा किसानमा चिन्ता थपिएको उहाँले उल्लेख गर्नुभयो । किसानले समयमै खेतमा मल प्रयोग गर्न नपाउँदा उत्पादन घट्ने, लागत बढ्ने र अन्ततः त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने उहाँको भनाइ थियो ।

सांसद विश्वकर्माले कृषि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा हरेक वर्ष किसानले उस्तै समस्या दोहोर्‍याएर भोग्नुपरेको बताउनुभयो । सरकारले पर्याप्त योजना, प्रभावकारी आपूर्ति व्यवस्थापन तथा अनुगमन गर्न नसक्दा किसान सधैं मारमा पर्ने गरेको उहाँले आरोप लगाउनुभयो । “किसानको समस्या कृषि क्षेत्रको मात्र विषय होइन,” उहाँले भन्नुभयो, “यो खाद्य सुरक्षा, जनताको दैनिक जीवन र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय हो ।”

उहाँले सरकारले उपलब्ध स्रोत, साधन र मौज्दात रहेको मल तथा बिउलाई व्यवस्थित रूपमा वितरण गरी किसानको समस्यालाई तत्काल सम्बोधन गर्न माग गर्नुभयो । कृषि सामग्री वितरणमा पारदर्शिता कायम गर्न, कालोबजारी नियन्त्रण गर्न तथा वास्तविक किसानसम्म सहज पहुँच पुर्‍याउन प्रदेश र संघीय सरकारले समन्वय गरेर काम गर्नुपर्ने उहाँको जोड थियो ।