थारु परिकार बजारीकरणकालागि प्रशिक्षण

तुलसीपुर,१० जेठ ।
थारु समुदायको खाना तथा परिकारलाई बजारीकरण गर्नकालागि महिलाहरुलाई प्रशिक्षित गरिएको छ । थारु समुदाय खानपानका हिसाबले धनी समुदाय भएपनि त्यसलाई आम्दानीसंग जोड्न नसकिएको भन्दै थारु समुदायका महिलाहरुलाई आम्दानीमा जोड्नकालागि प्रशिक्षण दिईएको हो । समाजमा वातावरणीय शिक्षाको विकास९सीड०को आयोजना तथा डिकेए अष्ट्रियाको आर्थिक सहयोगमा शनिबार तुलसीपुर उपमहानगरपालिका भित्रका थारु समुदायका महिलाहरुलाई थारु समुदायको खानपानलाई बजारीकरण गर्नकालागि प्रशिक्षण दिएको हो ।

संस्थाका निर्देशन भागीराम चौाधरीका अनुसार थारु समुदायको ढिक्री, रोटी,अनदीजस्ता खानालाई बजारीकरण गर्नु अहिलेको आबश्यता रहेको बताए । उनका अनुसार तरकारी तर्फ घुँङी,गंगटा, माछा, आलुको अचार, सिन्कीको झोललगायत निकै प्रसिद्ध छन्, भने थारु समुदायले बनाएको जाँड र रक्सी पनि धेरैलाई मन पर्ने गर्छ । अब थारु समुदायका यस्ता परिकारलाई बजारीकरण गर्न नसकेमा थारु समुदाय आर्थिक हिसाबले पछि पर्ने उनको भनाई थियो ।


थारु समुदायको खानपिन, संस्कार, संस्कृतिलाई पर्यटनसंग पनि जोड्नु पर्ने प्रशिक्षक रोहीत चौधरीले बताए ।“थारु समुदाय कला, संस्कार, संस्कृति, खानपानका हिसाबले धनी समुदाय हो”,उनले भने “तर, यो समुदायले आफ्नो यो कुरालाई आयआर्जनसंग जोड्न सकेको छैन ।”
थारु समुदायको परम्परालाई संरक्षण गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । उनले आफ्नो पहिरन, खानपान, संस्कार, संस्कृति जोगाउनु पर्ने अहिलेको मुख्य दायित्व रहेको समेत बताए । नयाँ पुस्ताले थारु समुदायको परम्परा भुल्दै गएको भन्दै चिन्ता समेत ब्यक्त गरे ।
सीडका अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु स्वास्थ्यकर्मी जीवराज चौधरी, भाग्य कृषि सहकारी संस्थाका अध्यक्ष यशोधा न्यौपाने, सदस्य कमला गौतम, मेलमिलाप सहजकर्ता रेश्मी चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।