तुलसीपुरको एउटै ट्रेनिङ सेन्टरबाट नेपाली सेनामा १६ जनाले नाम निकाले

तुलसीपुर,१८ कात्तिक । तुलसीपुरस्थित ‘द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुर’ बाट एकै लटमा १६ जनाले नेपाली सेनामा नाम निकाल्न सफल भएका छन् । उनीहरू मध्ये ६ महिला र १० पुरुष रहेका छन् । सफलतापछि मंगलबार सेन्टरले बिदाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम सेन्टरका सञ्चालक गोरख भण्डारीको अध्यक्षतामा र नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष खड्काले नेपाली सेना जस्तो गौरवपूर्ण संस्थामा नाम निकाल्न सफल सबैलाई बधाइ ज्ञापन गर्दै संस्थाको इज्जत र प्रतिष्ठामा आँच नआउने गरी कार्य सम्पादन गर्न आग्रह गरे । उनले युवा पुस्ताले विदेश रोजगारीको मोह त्यागेर स्वदेशमै सुरक्षाको जस्तो जिम्मेवार र सम्मानित क्षेत्रमा प्रवेश गर्नु गर्वको विषय भएको बताए ।


त्यस्तै, प्रेस सेन्टर नेपाल दाङका सचिव दीपक बोहराले हालसालैको जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न चुनौतीपूर्ण अवस्थामा नेपाली सेनाले निभाएको भूमिकाको सराहना गर्दै नयाँ भर्ती भएकाहरूलाई जिम्मेवारीका साथ काम गर्न शुभकामना दिए ।

नेपाली सेनामा नाम निकाल्न सफल मध्यकी पवित्रा वलीले तालिमका क्रममा आएका अनेकन कठिनाइ र बाधाहरू पार गर्दै सफल भएको बताउँदै भविष्यमा पनि सेनाको गौरव कायम राख्ने प्रतिबद्धता जनाइन् । कार्यक्रम सेन्टरका सञ्चालक समितिका सदस्य घनश्याम केसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण पत्रकार केबी वलीले गरेका थिए ।