शान्तिनगर गाउँपालिका अध्यक्ष र हाकिममाथि वडाध्यक्षद्वारा हातपातको प्रयास

दीपक बोहरा
दाङ,२० फागुन । दाङ शान्तिनगर गाउँपालिकाका वडा नं. २ का अध्यक्ष सुनिल वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गरेका छन् । शुक्रबार विहान साढे ११ बजेतिर वडाध्यक्ष वलीले पालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि हातपातको प्रयास गरेको आरोप लागेको छ ।“हामी पालिका अध्यक्षको कोठामा थियौं”, प्रमुख प्रशासकीय अधिकृत खड््काले भने “एक्कासी वडाध्यक्षहरु आएर हातपात गर्न खोज्नु भयो ।”

शान्तिनगर गाउँपालिका वडा नं. २ र ५ को सिमानामा पर्ने बौलाह खोलाको विष्णपुर घाटमा भइरहेको उत्खख्का विषयमा विवाद सिर्जना भएपछि हातपातको अबस्था सिर्जना भएको हो । वडाध्यक्ष वली आएर पालिका अध्यक्षको कोठामा रहेको चिया टेबल उठाएर हिर्काउन खोजेको अधिकृत खड्काले बताए । उनका अनुसार सोही क्षेत्रमा कार्यपालिका बैठकले उत्खनन्को जिम्मा दिएको हो । कार्यपालिकाको पुस २१ गतेको निर्णय अनुसार सोही क्षेत्रमा उत्खनन्को जिम्मा दंगीशरण ३ स्थित सनलाईट निर्माणलाई दिईएको थियो । सोही क्षेत्रमा सनलाईटले १ हजार ६ सय घनमिटर जति अहिले उत्खनन् गरिसकेको प्रशासकीय अधिकृत खड्काले बताए । तर, तोकिएको क्षेत्र भन्दा बाहिर उत्खनन् भएकाले त्यसमा आफूले ध्यानाकर्षण गराएको वडाध्यक्ष सुनिल वलीले बताए ।“मैले तोकिएको स्थान भन्दा बाहिर उत्खनन् भएकाले सोही क्षेत्रमा ध्यान दिन भनेको हुँ”,उनले भने“म जाँदा दुई जना संगं हुनुहुन्थ्यो, त्यो क्रममा विवाद भएको हो ।”

साथै ठेली नकाटेर ओसार पसार भइरहेको समेत वडाध्यक्ष वलीले बताए ।“दिनमा १५ वटा टिप्पर चल्छन्”,उनले भने“तर, एउटै ठेलीबाट काम भइरहेको छ, यही विषयमा मैले ध्यानाकर्षण गराएको हुँ ।” आफै यो विषयमा १५/२० दिन अघि नै ध्यानाकर्षण गराएको समेत वडाध्यक्ष वलीले बताए ।


यस अघि पनि प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपातको प्रयास भएको थियो । गएको असोज तिर करार कर्मचारी नियुक्तीका सन्दर्भमा पनि वडाध्यक्ष वलीले आफूमाथि हातपात गर्न खोजेको खड्काले बताए । पटक–पटक आफूमाथि हातपातको प्रयास भएकाले आफू असुरक्षित रहेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । यो विषयमा प्रमुख जिल्ला अधिकारी शुसिल बैद्य समक्ष जानकारी गराईसकेको समेत खड्काले बताए । साथै पालिका अध्यक्ष बस्नेतले यो विषयमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी पनि दिइसकेको बताएका छन् । कार्यालय समयमा यसरी कर्मचारीमाथि हातपात हुनुले काम गर्ने सहज वातावरण नहुँने नेपाल निजामति कर्मचारी युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष रेश्मीराज अधिकारीले बताए । “नीति बमोजिम काम गर्न खोज्दा आफू अनुकूल नभएको बाहानामा कानुन हातमा लिन खोजी अशोभनिय ब्यहार प्रदर्शन गर्नु गलत हो”,उनले भने“यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”