उपभोक्तालाई सीप सिकाएर आत्मनिर्भर बनाउने सामुदायिक वनको उदेश्य

प्रिया स्मृती गजमेर
देउखुरी,६ जेष्ठ ।
स्थानीय नागरिकलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले लमही नगरपालिका ४ स्थित घुम्ना सामुदायिक वन उपभोक्ता समूहले एक महिने सीपमूलक वेत–बाँस फर्निचर तालिम सुरु गरेको छ । सामुदायिक वन समूहको आयोजना तथा आरआरएनरडिजिएम नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले गर्नुभएको हो ।

स्थानीय स्तरमै उपलब्ध कच्चापदार्थको सदुपयोग गर्दै स्वरोजगार सिर्जना गर्ने लक्ष्यका साथ सुरु गरिएको तालिममा २० जना महिला तथा पुरुषको सहभागिता रहेको छ । तालिममा सहभागीहरूलाई वेत बाँसबाट घरायसी तथा सजावटका विभिन्न हस्तकला सामग्री निर्माण गर्ने सीप प्रदान गरिने भएको छ । तालिमको प्रशिक्षकका रूपमा खेम बहादुर चौधरी रहनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सामुदायिक वनले वन संरक्षणसँगै नागरिकको आर्थिक अवस्था सुधारका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमै उपलब्ध स्रोत र साधनलाई उपयोग गरेर उद्यमशीलता विकास गर्न सकिए बेरोजगारी न्यूनीकरणमा ठूलो योगदान पुग्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सीप बिना रोजगारी सम्भव छैन । अहिलेको आवश्यकता भनेको युवालाई विदेश पठाउने होइन, आफ्नै ठाउँमा उत्पादन र उद्यमसँग जोड्ने हो । वेत बाँसबाट बन्ने सामग्रीको बजार राम्रो भएकाले यसले आयआर्जनको भरपर्दो आधार तयार गर्न सक्छ ।”

उपप्रमुख योगीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा यस्ता तालिम प्रभावकारी हुने बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारले पनि सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक खेम बहादुर चौधरीले वेत बाँसबाट आधुनिक तथा आकर्षक फर्निचर र सजावटका सामग्री निर्माण गर्न सकिने जानकारी दिनुभयो । उहाँले बजारको मागअनुसार उत्पादन गर्न सके स्थानीय उत्पादनले राम्रो आम्दानी दिन सक्ने बताउनुभयो ।


“वेत–बाँसका सामग्री वातावरणमैत्री हुनुका साथै अहिले बजारमा यसको माग बढ्दो छ,” उहाँले भन्नुभयो, “तालिमपछि सहभागीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने क्षमता विकास हुनेछ ।”

लमही सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत कमल प्रसाद पुनले वन संरक्षण मात्र नभई वनजन्य वस्तुको उत्पादन र उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले सामुदायिक वनले स्थानीय समुदायको जीवनस्तर उकास्न उल्लेखनीय योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो ।

घुम्ना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हल्लु प्रसाद चौधरीले समूहले विगतदेखि नै स्थानीयलाई उद्यमसँग जोड्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक वनले करिब ७ हेक्टर क्षेत्रफलमा वेत बाँस खेती विस्तार गरेको छ ।

उहाँले भन्नुभयो, “वनभित्र उत्पादित वेत बाँसलाई सदुपयोग गर्दै स्थानीयलाई आयआर्जनमा जोड्ने हाम्रो प्रयास हो । यसअघि पनि विभिन्न हस्तकला तालिम सञ्चालन गरेका थियौँ । अहिले फेरि फर्निचर निर्माण तालिममार्फत सहभागीलाई व्यावसायिक बनाउन खोजेका छौँ ।”

उहाँले तालिमबाट सहभागीहरूले सीप सिकेर घरमै बसेर आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । साथै सामुदायिक वनले वन संरक्षण, वातावरण सन्तुलन र आर्थिक गतिविधिलाई सँगसँगै अघि बढाउने नीति लिएको बताउनुभयो ।

कार्यक्रम घुम्ना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हल्लु प्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष शिव प्रसाद चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सीता चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । स्थानीय स्तरमा उपलब्ध स्रोतको उपयोग गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले सुरु गरिएको यो तालिमले सहभागीलाई आत्मनिर्भर बनाउनुका साथै ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने छ ।