
तुलसीपुर, ५ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.८ निवासी तेजकुमारी भुषाल श्वर वोलाई सम्बन्धि अपाङ्गता भएका ब्यक्ती हुन् । उनी अपाङ्गता भएको ब्यक्ती भएकै कारण पछि पर्नु परेको गुनासो गरिन् । उनले आफ्नो बोली अरुलाई बुझाउन नसक्दा पछि परेको बताईन् । “मैले बोलेको कुरा अरुले बुझ्नु हुन्न”,उनले भनिन् “त्यसैले म सामाजिक रुपमा निकै पछि परेकी छु ।”
त्यस्तै तुलसीपुर ४ निवासी रुपा विक सुस्तश्रवन हुन् । सुस्त श्रवन भएकै कारण उनलाई गाडीबाट जहाँ झर्नु पर्ने हो, त्यहाँ झारिदिदैनन् । “जहाँ आफू झर्ने हो मैले गाडीलाई त्यही झारिदिनुस् भन्छ्”,उनले सांकेतिक भाषामा भनिन् “तर, मेरो कुरा नबुझ्दा त्यहाँ झारिदिनुहुँदैन, अन्तै झारिदिनु हुन्छ, अनि आफै फेरि हिडेर आउनु पर्छ ।” त्यति मात्रै होईन्, आफू सुस्तश्रवन भन्ने थाहा पाएपछि गाडीमा पनि दुब्र्यबहार गर्ने, गलत नियतले छुन खोज्ने जस्ता कार्य हुने गरेको समेत गुनासो गरिन् ।
विरामी भएको बेला अस्पतालमा जाँदा पनि आफूले भनेको कुरा नबुझ्दा निकै समस्या हुने गरेको राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले बताए ।
त्यस्तै दृष्टिविहीन तुलसीपुर ७ निवासी रामबहादुर खड्काका पनि पीडा यस्तै छन् । उहाँ गाडीमा जाँदा भाडा नै छुट नगर्ने गरेको गुनासो गरे ।“घोराही तुलसीपुर जाँदा एकसय १२ रुपैँया भाडा छ”,उनले भने “तर, छुट भनेर एकसय १० रुपैँया लिन हुन्छ, दुई रुपैँया छुट भयो भन्नु हुन्छ, यसरी त कहाँ हुन्छ ।” यो विषयमा आफूहरुले कुरा उठाएपछि अर्को पटक गाडीमा नै नबसाउने समेत गरेको उनले गुनासो गरे । त्यस्तै सडकमा कुनै सांकेतिक आवाज नहुँदा तथा उचित फुटपाथ नहुँदा पनि हिडडुल गर्न समस्या हुने गरेको उनको गुनासो छ ।
त्यस्तै तुलसीपुर ९ बेलुवा निवासी शारिरी अपाङ्गता भएका ब्यक्ती छबि भण्डारीले सरकारी कार्यालयमा ह्वील चियर जान ठाउँ नहुँदा कार्यालयको पहुँचमा समेत नभएको गुनासो गरे । कार्यालय प्रमुख तथा जनप्रतिनिधिहरु कार्यालयको माथिल्लो तलामा बस्ने गरेको र आफुहरु त्यहाँ पुग्न नसक्ने भन्दै अपाङ्गमैत्री संरचना निर्माण गर्नुपर्ने उनको भनाई थियो ।“हामी कार्यालयमा जाँदा संरचना अपाङ्गमैत्री हुँदैनन्”,उनले भने “जसले गर्दा कार्यालयमा काम गर्न किनै समस्या हुन्छ ।” उनहिरु त केही उदाहरण मात्रै हो । सबै अपाङ्गता भएका ब्यक्तीहरुले यस्तै समस्या भोग्नु परेको छ ।
तर, यातायात क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्ने गरि लाग्ने त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए । त्यस्तै सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले पनि आफ्नो कार्यालय पहिलो तलामै भएकाले अपाङ्गमैत्री रहेको बताए । उनका अनुसार नयाँ बन्ने संरचना पनि अपाङ्गमैत्री नै हुने गरेको छ ।
सार्वजनिक निकायहरुमा अपाङ्गमैत्री भौतिक पुनसंरचना सुधार तथा यातायात भाडादर छुट सम्बन्धि कार्यशाला गोष्ठीमा उनीहरुले यसरी आफ्ना गुनासो पोखेका हुन् । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोग तथा तुलसीपुर उपमहानगरपालिकाका समन्वय एवं राप्ती बहिरा संघको आयोजनामा कार्यक्रम भएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठ, सूचना अधिकारी यज्ञ केसी, पत्रकार दीपक बोहरालगायतले आफ्ना भनाई राखेका थिए।
कार्यक्रमको सहजीकरण प्रतिमा शर्माले गरेकी थिइन्, भने ब्यबस्थापन कार्याक्रम संयोजक बसन्ती वलीले गरेकी थिइन ।



लाइभदाङ । ५ जेष्ठ २०८३, मंगलवार २३:१७ बजे