दाङमै धागोबाट ‘ए फर एप्पलदेखि जेठ फर जेब्रा’ बनाउनेहरु

दीपक बोहरा
दाङ, २२ साउन ।
दाङको घोराहीको स्वप्न होजेरी उद्योगमा ऊनका रंगीचंगी धागोहरूसँगै महिलाहरूको नयाँ सपना बुनिँदैछ। हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने’ भन्ने अन्योलमा रहेका महिलाहरू अहिले व्यावसायिक बन्दैछन् । उनीहरूका हातमा क्रुस र सियो मात्र छैन, आत्मनिर्भर बन्ने एउटा दरो आँट पनि देखिन्छ।

यस्तै पात्रमध्येकी एक हुन्, सुमिला नेपाली। दाङ बंगलाचुली, घर भई हाल नवलपुर बस्दै आएकी सुमिला अहिले यसरी नै धागोमा ब्यस्त हुन्छिन् । ‘पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बितेको पत्तै हुँदैनथ्यो’, उनी विगत सम्झिन्छिन् ।

उनले साउन ६ गतेदेखि उनले ऊनबाट शैक्षिक सामग्री बनाउन सिक्न थालिन् । हाल उनले उनले स्याउ, सुन्तला, गाजर र आकर्षक डलहरू बनाउन सिपालु भइसकेकी छन् । पहिलो पटक यो सीप सिक्दै गरेकी सुमिला भन्छिन्‘अहिले त आफू व्यस्त भइयो, केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको महसुस हुन्छ ।’

सुमिलासँगै पूर्वी रुकुमकी झरना बुढा मगर पनि यो अभियानमा जोडिएकी छन् । प्लस टु सकेर नवलपुरमा बसिरहेकी झरनाले खाली समयको सदुपयोग गर्न यो सीपलाई रोजिन् । उनले अहिले विद्यालयका लागि चाहिने वर्णमाला र खेलौनाहरू बनाउन व्यस्त छिन् । ‘एप्पलदेखि जेब्रासम्म(ए टु जेट’ का सामग्रीहरू र विभिन्न डलहरू बनाउन सिक्दैछौं’,उनी उत्साहका साथ सुनाउँछिन् । धागो, क्रुस र सियोकै भरमा सानो लगानीबाट बालबालिकाका लागि उपयोगी सामग्री बनाउन सकिने देखेपछि उनी यो कामलाई निरन्तरता दिने सोचमा छिन् ।


यी महिलाहरूलाई संगठित गर्ने र सीप सिकाएर बजारसम्म पु‍¥याउने कामको नेतृत्व स्वपन होजेरी उद्योगकी प्रमुख रचना सुवेदीले गरिरहेकी छन् । दाङको घोराहीमा मुख्य उद्योग रहेको यस संस्थाले महिलाहरूलाई तालिम र रोजगारीसँग जोडेको छ। उनका अनुसार अहिले विद्यालयहरुले यसरी‘ए देखि जेठ’ सम्म धागोबाटै बनाउन थालेपछि निकै काम पाएको बताईन् । विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री भएपछि सबैले यसको माग गर्ने गरेको उनको भनाई छ ।‘ऊनबाट बनेका यी सामान बालबालिकाका लागि सुरक्षित छन्, अरु बलले जस्तो यसले चोट लाग्दैन र यो पुनः प्रयोग गर्न सकिने पनि छ’,उनले भनिन् ।

यो संगै अहिले उद्योगमा बिभिन्न ५६ प्रकारका धागोका सामग्रीहरू बनाउन सफल भएको उनको भनाई छ ।

उनले आफ्नो मुख्य उद्देश्य केवल व्यापार मात्र नभई स्वरोजगार सिर्जना गर्ने रहेको बताईन् । अहिले उनले १५ भन्दा बढि श्रमिक राखेकी छन् । काम पनि सिकाउने र रोजगार पनि दिने गरेको उनको भनाई छ । उनीहरुलाई सामान विक्रीको ५० प्रतिशत दिने गरिएको उनको भनाई छ ।‘ए टु जेठ’ का सेटलाई पाँच हजारमा विक्री गर्ने गरिएको भन्दै त्यसको ५० प्रतिशत श्रमिकलाई दिने गरेको उनको भनाई छ । हालसम्म २५ सेटभन्दा बढी सामग्रीहरू विभिन्न बोर्डिङ स्कुलहरूमा बिक्री भइसकेका छन् । पछिल्लो समय माग पनि बढ्दो रहेको उनको भनाई छ ।

२०६३ सालमा घोराहीमा उक्त होजेरी उद्योग सञ्चालनमा आएको हो । त्यसपछि उक्त उद्योगले यसरी होजेरी सम्बन्धि तालिम दिदै आएको छ । सोही तालिमबाट धेरैले रोजगारी प्राप्त गर्न सफल भएका छन् । बिभिन्न जिल्लामा पुगेर समेत यसरी तालिम प्रदान गर्ने गरिएको छ ।