सञ्चार र विद्युत् माग्दै झुल टासेर नै धर्नामा बसे वडाध्यक्ष

सुर्खेत,३ जेठ ।
सञ्चार विद्युत्को माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा झुल टासेर नै सल्यान कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले धर्नामा बसेका छन् । सडक, सञ्चार र विद्युत् सेवाजस्ता आधारभूत पूर्वाधार विस्तारको माग राख्दै उनी धर्नामा बसेका हुन् । रिजालले घुईयाबारी स्वामीबास बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे, नेपाल टेलिकमको टावर निर्माण र गाउँमा विद्युत् विस्तारको काम तत्काल अघि बढाउनुपर्ने माग राखेर तीनदिन यता मुख्यमन्त्री कार्यालय अघि झुल टागेर बसेका छन् ।

स्थानीय तह र प्रदेश सरकारसमक्ष पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि आफू बाध्य भएर धर्नामा बस्नुपरेको उनले बताए । ‘घुईयाबारी स्वामीबास क्षेत्रका बासिन्दा अहिले पनि सहज सडक पहुँच, भरपर्दो सञ्चार सेवा र नियमित विद्युत्बाट वञ्चित छन्,’ उनले भने,‘वर्षायाममा सडक हिलाम्मे र अवरुद्ध हुँदा बिरामी ओसारपसार, खाद्यान्न ढुवानी तथा विद्यार्थीको आवतजावतमा समस्या हुने गरेको छ ।’


सडक नहुँदा जनताले राज्यको अनुभूति गर्न नपाएको र विकासका सामान्य पूर्वाधारका लागिसमेत आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘विद्युतीकरण नहुँदा स्थानीयले अझै परम्परागत इन्धन र सोलारकै भर पर्नुपरेको भन्दै उनले ग्रामीण बस्तीलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्नुपर्छ,’ उनले भने, ‘सडक, सञ्चार र विद्युत् अहिलेको समयमा विलासिताका विषय होइनन्, आधारभूत आवश्यकता हुन् ।’
रिजालले माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।