बेलझुण्डी खानेपानी: ऋणले च्यापेपछि बढ्यो महशुल, कार्यकाल ४ बर्ष

दाङ, ३ जेठ ।
दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई ऋणले च्यापे पछि महशुल बृद्धि गरिएको छ । संघको शनिबार भएको ११ औं साधारणसभाबाट महशुल बृद्धि गरिएको हो । संस्थाका सचिब मुकेश वलीका अनुसार यस अघि १२ हजार लिटरसम्मको एकसय रुपैँया थियो । तर, अहिले त्यसलाई बढाएर एकसय ६० रुपैँया बनाईएको छ ।

संस्थाले सहलगानी सम्पन्न गर्नकालागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको ६ करोड ८९ लाख २६ हजार रुपैँया ऋण लिएको थियो । जस मध्ये अहिलेसम्म नगर विकास कोषलाई सावा र ब्याज गरि १ करोड २६ लाख ३२ हजार ३ सय ९४ मात्रै तिरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम पनि तिर्नकालागि ताकेता गरिरहेको छ । यसले गर्दा खानेपानीको महशुल बढाउनु पर्ने अबस्था आएको उनले बताए । संस्थाको ३२ करोड ६ लाख लागतमा सहलगानीको काम भएको हो ।


नेपाल सरकारको सहलगानी आयोजना अन्तर्गत भएको काममा सरकारले ३० करोड ७३ लाख ६५ हजार रुपैँया उपलब्ध गराएको थियो । त्यसको २० प्रतिशत उपभोक्ताले तिर्नुपर्ने हुन्छ । त्यही उपभोक्ताले तिर्नुपर्ने रकमकालागि लिईएको ऋण तथा सापटी तिर्न निकै कठीन भएको सचिब वलीको भनाई छ । हाल खानेपानीको बार्षिक आम्दानी ७० लाखको हाराहारीमा रहेको कोषाध्यक्ष बसन्त थापाले बताए ।

कार्यकाल ४ बर्षे
साधारणसभाले कार्यसमितिको कार्यकाल ४ बर्ष बनाएको छ । यस अघि तीन बर्षे कार्यकाल थियो । त्यसलाई बढाएर चार बर्षे बनाईएको अध्यक्ष प्रदीप गौतमले बताए । उक्त खानेपानीमा हाल दुईहजार एक सय निजि धारा छन्, भने १९ वटा सार्वजनिक धारा रहेका छन् । त्यस्तै संस्थागत तर्फ १५ वटा रहेका छन् । उक्त संस्थाका हाल रोल्पा रुन्टीगढी गाउँपालिकाको रिप्ले खोला,बगाले खोला, गर्पा खोला तथा दाङको विकट डाँडीकाँटमा मुहान रहेका छन् । साविक विजौरी र मानपुर गाविसका जनतालाई खानेपानी सुविधा गराउने उद्देश्यले २०३४ सालमा उक्त खानेपानी संस्था स्थापना भएको हो । उक्त संस्थाले हाल तुलसीपुर उपमहानगरपालिका वडा नं।१६,१७,१८ र १९ का उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले साना खानेपानी संस्थाहरुलाई नजिकैको ठूलो खानेपानी संस्थामा मर्ज गर्ने बताए । त्यसो गर्दा नै राज्यको लगानी सही रुपमा सदुपयोग हुने उनको भनाई छ ।