
तुलसीपुर ,२ जेठ ।
लोकतान्त्रिक अभ्यासलाई विद्यालय तहदेखि नै सुदृढ बनाउने उद्देश्यसहित श्री लक्ष्मी माध्यमिक विद्यालय मा विद्यालय कप्तान तथा उप-कप्तान चयनका लागि निर्वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।
विद्यालयमा आयोजित निर्वाचनमा प्रत्येक पदका लागि ५र५ जना प्रतिस्पर्धी उम्मेदवार सहभागी भएका थिए । विद्यार्थीहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार विद्यालय कप्तान पदमा हिमाल के। सी। निर्वाचित भएका छन् । इरेजर चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका उनले खसेको कुल २२९ मतमध्ये ११९ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा ९ मत बदर हुँदा २२० मत सदर भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी विद्यालय उप-कप्तान पदमा क्रिकेट बल चुनाव चिन्हसहित प्रतिस्पर्धा गरेकी अनुषा खड्का निर्वाचित भएकी छन् । उनले कुल २२९ मतमध्ये ७१ मत प्राप्त गरेकी थिइन् । उप-कप्तान पदतर्फ ६ मत बदर भई २२३ मत सदर भएको थियो ।
निर्वाचित कप्तान तथा उप-कप्तानलाई विद्यालय परिवारले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै निर्वाचन कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण शिक्षक तथा कर्मचारीप्रति विद्यालयले धन्यवाद ज्ञापन गरेको विद्यालयका गणित शिक्षक जगत के। सी।ले दिए ।



लाइभदाङ । २ जेष्ठ २०८३, शनिबार १०:४६ बजे