
दाङ,३१ बैशाख ।
थारु समुदायमा रहेको सिकलसेल रोगको परिक्षणको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बृहत शिबिर गर्ने अभियान अनुरुप यहि जेठ ६ गते घोराही १० नारायणपुरमा सिकल सेल रोग तथा थालासेमिया रोगको परिक्षण तथा परामर्श सेवा दिने भएको छ । प्रतिष्ठानका प्रा।डा। जनार्दन पन्थिको नेतृत्वमा आज ल्याब र प्रशासनका कर्मचारीसहित पुगेको टोलिले नारायणपुरस्थित सिद्धरत्ननाथ माबि र घोराही १० का वडा अध्यक्ष दिपक पाण्डेसंग छलफल गरेर शिबिरको मिति टुङ्गो लगाएको हो । शिबिरलाई भब्यरुपमा सफल पार्न वडा अध्यक्ष पाण्डेले वडामा रहेका टोल बिकास संस्था,, बन समूह, सामुदायिक तथा संस्थागत बिद्यालय, मतौ, स्वयमसेबिका, स्थानीय राजनितिक दल लगायत स्थानीय सरोकारवाला सबैलाई परिचालन गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यस्तै छलफलमा सिद्धरत्ननाथ माध्यमिक बिद्यालय नारायणपुरका प्रधानाध्यापक उत्तम खनालले परिक्षण शिबिरलाई ब्यापक र बृहत बनाउने कुरामा बिद्यार्थी र अभिभाबक परिचालन गर्ने र वडा कार्यालय मार्फत सबै सरोकारवालासंग समन्वय गर्न सहज हुने बताउनुभयो ।
घर आगनमै हुन लागेको शिबिरको भरपुर सदुपयोग गर्न बिद्यालयका प्रअ खनालले सबैमा आग्रह गर्नुभयो । शिबिरमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, नर्स,स्वास्थ्यकर्मि र ल्याबको टोलिको सहभागिता रहने प्रतिष्ठानका प्राडा जनार्दन पन्थिले बताउनुभयो । शिबिर जेठ ६ गते बिहान १० बजेदेखि सिद्ध रत्ननाथ माध्यमिक बिद्यालय नारायणपुरको प्राङ्गणमा हुनेछ । शिबिरमा नारायणपुरसहित त्यस क्षेत्र आसपासका स्थानीय समुदायको ठुलो संख्यामा बृहत सहभागिता हुने अपेक्षा गरिएको छ ।



लाइभदाङ । ३१ बैशाख २०८३, बिहीबार २२:४१ बजे