
आलोक भावुक
गढवा,२५ वैशाख।
भूमिहीन सुकुम्बासी, मुक्त कमैया, कमलरी तथा अव्यवस्थित बसोबासीलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास नगर्न माग गर्दै गाउँपालिका स्तरीय भूमि अधिकार मञ्च गढवाले गढवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। मञ्चका अध्यक्ष विष्णुप्रसाद चौधरी को नेतृत्वमा २६ वटा गाउँ भूमि अधिकार मञ्चका प्रतिनिधिसहितको टोलीले गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल लाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा वैकल्पिक सुरक्षित बसोबासको स्पष्ट, व्यवहारिक तथा योजनाबद्ध व्यवस्था नगरी उठीबास प्रक्रिया अघि नबढाउन माग गरिएको छ। साथै मानवअधिकार, संवैधानिक हक तथा प्रचलित कानुनी प्रक्रियाको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी भूमि समस्या समाधान आयोगले अघि बढाएको कार्यलाई निरन्तरता दिँदै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच तथा नक्सांकन कार्य सम्पन्न गरी जग्गा वितरण गर्न माग गरिएको छ। बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा सम्बन्धित परिवारहरूको स्थलगत विवरण तयार गरी उचित स्थानमा व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
ज्ञापनपत्रमा जिल्लाका विभिन्न स्थानमा सरकारी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा मुक्त कमैयालाई जग्गा खाली गर्न भन्दै सूचना जारी गरिनु र स्थानीय तहबाट उठीबास गर्ने किसिमका निर्णय गरिनुले समुदाय त्रसित बनेको उल्लेख गरिएको छ। “यस्ता निर्णयले भूमिहीन तथा सुकुम्बासी परिवारमाथि गम्भीर सामाजिक, आर्थिक र मानवीय असर पर्नेछ,” ज्ञापनपत्रमा भनिएको छ, “वैकल्पिक व्यवस्थाबिना गरिने उठीबास लोकतान्त्रिक मूल्य–मान्यता तथा मानवअधिकारको मर्म विपरीत हुन्छ।” टोलीले समस्या समाधानका लागि संवाद, समन्वय र कानुनी प्रक्रियाअनुसार अघि बढ्न गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल सँग आग्रह गरेको छ।



लाइभदाङ । २५ बैशाख २०८३, शुक्रबार २२:२८ बजे