बेहुली स्वागत गर्न तयार भएकाहरु मलामी जानु परेपछि…

दाङ,२२ माघ ।
शनिबार विहान प्यूठानको नौबहिनी गाउँपालिका लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिका वडा नं. ६ लिवाङ आउँदै थियो । नयाँ दुलही भित्र्याउदै गरेको अबस्थामा गाउँमा पनि उत्साह थियो । दुलहीलाई स्वागत गर्न गाउँका मानिशहरु तयारी अबस्थामा थिए । ‘गाउँका सबै मानिश नयाँ दुलहीलाई स्वागत गर्न तयारी अबस्थामा थिए’ गौमुखी गाउँपालिका वडा नं ६ का अध्यक्ष लालबहादुर खत्रीले भने‘तर, नयाँ दुलही भित्र्याउने सपना पूरा हुन सकेन ।’

दुलही ल्याएर जन्ती घर नजिकै पुग्दै थिए । वडाध्यक्ष खत्रीका अनुसार घर पुग्न एक किलोमिटर दुरि पार गर्न बाँकी थियो । त्यही क्रममा गाडी दुर्घटनामा प¥यो । जुन दुर्घटनामा परि एक घरका तीनजनासहित ८ जनाको मृत्यु भयो । मृत्यु हुनेमा सोही वडाका ३९ बर्षीय बसन्त खड्को तीन जनाको परिवार रहेका छन् । खड्का पार्टीका सोही गाउँपालिकाका उपसभापति पनि हुन् । दुर्घटनामै उनकी श्रीमति ३९ बर्षीय बसन्ती खड्का र ११ बर्षीया छोरी एलिसा खड्काको मृत्यु भयो । उनीहरुको चारजनाको परिवार थियो । त्यो दिन १२ बर्षीय छोरा भिषण खड्का घरमै बसेका थिए । बसन्त बेहुला २५ बर्षीय दानबहादुर खड्काका काकाका छोरा हुन् ।

सोही दुर्घटनामा मृत्यु हुनेमा परिवार भित्रका छन् । वडाध्यक्ष खत्रीका अनुसार सोही दुर्घटनामा बसन्तका साला ३२ बर्षीय खिमबहादुर खत्री, बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी खड्का, दानबहादुरकी माइली अन्टी नन्दी खड्का रहेका छन् । त्यस्तै जीप चालक ५२ बर्षीय बलबहादुर बुढाको पनि मृत्यु भएको छ, भने बेहुली पक्षबाट आएकी नौबहिनी ६ लुङ्की १९ बर्षीया विपना जीसीको मृत्यु भएको प्रहरीले बताएको छ । जीसी दुलहीकी बहिनी हुन् ।

बेहुलाका आमावुवा भने बेहुली ल्याउन गएका थिएनन् । उनीहरु घरमै स्वागतको तयारी गरिरहेका थिए । शनिबार जन्ती बोकेको जीप गौमुखी गाउँपालिकाका वडा नं. ६ ओखरपाटामा दुर्घटनामा परेको हो । गाडी सडकबाट १५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार बाटो उकालो भएको र पानी परेकाले दुर्घटनामा परेको हो । दुर्घटनामा दुलला, दुलहीसहित पाँचजना घाईते भएका छन् ।


प्यूठान प्रहरीका अनुसार बेहुलाका भाइ १७ वर्षीय नरेश खड्का, बेहुली २० वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढामगर , २५ वर्षीय साबित्रा जिसी र बेहुला दानबहादुरको भैरहवामा उपचार भइरहेको छ । बेहुलीको एउटा हात चुँडिएको छ ।

एउटै घाटमा दाहसंस्कार
मृत्यु भएका उनीहरुलाई एउटै घाटमा दाहसंस्कार गरिएको छ । वडाध्यक्ष खत्रीका अनुसार प्यूठानको झिम्रुक घाटमा दाहसंस्कार गरिएको हो । बसन्तका श्रीमान–श्रीमतिको एकै ठाउँमा राखेर दाहसंस्कार गरिएको हो । भने अन्यको छुट्टा–छुट्टै स्थान बनाएर दाहसंस्कार गरिएको हो । शनिबार राति उनीहरुको दाहसंस्कार गरिएको हो ।

जोखिम पहाडको यात्रा
प्रायः पहाडी क्षेत्रमा गुड्ने गाडीमा क्षमता भन्दा बढि यात्रु राखेर यात्रा गरिन्छ । सीमित गाडी चल्ने भएकाले पनि यो बाध्यता हुन्छ । सिट नहुँदा छतमा पनि यात्रा हुन्छ । सडकको अबस्था पनि नाजुक हुन्छ । कच्ची र धुलाम्मे सडक । बीचमा खाल्डै खाल्डा । यसले पनि दुर्घटनाको जोखिम बढाउने गर्छ । बीचबीचमा प्रहरी चेकिङ पनि हुन्छ । तर, त्यति प्रभाबकारी हुँदैन । प्रहरीले सीट भन्दा बाहिरका यात्रुहरुलाई ओराल्ने गर्छ । चेकपोष्टमा मात्रै होईन्, प्रहरीले ठाउँ–ठाउँमा छड्के जाँच गर्छ । तर, जसरी पनि गन्तब्यमा पुग्नै पर्ने बाध्यताले गर्दा जोखिम मोलेर भएपनि यात्रा गर्नै पर्ने बाध्यता छ । सुरक्षाकर्मीले गाडीबाट क्षमता भन्दा बढि यात्रुहरुलाई झारेपनि केही समय पर गएपछि पुनः गाडीमै यात्रा गराउनुको विकल्प पनि हुँदैन । प्रहरीको आँखा छलेर पनि यात्रुहरुलाई लैजानुपर्ने अबस्था छ । त्यसले गर्दा पनि पहाडी क्षेत्रमा चाडपर्वको समयमा गाडी थप गर्न आबश्यक देखिन्छ ।