सिपी संस्था द्वारा राप्तीका विपन्न विद्यार्थीहरुलाई नगद तथा साइकल वितरण

तुल बहादुर कवँर मगर
दाङ १७ पुष ।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले दाङको राप्ती गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नगद तथा नयाँ साइकल वितरण गरेको छ ।

राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा सँगको समन्वयमा संस्थाले सोमबार सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना पालिकाको विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यनरत १४ जना गरिब, विपन्न तथा दलित विद्यार्थीलाई नगद र विद्यालय देखि टाढा घर भएका १५ जना विद्यार्थीहरु नयाँ साइकल वितरण गरेको छ।

संस्थाले क्याम्पस तहमा अध्यनरत ८ विद्यार्थीलाई प्रति विद्यार्थी ९ हजार र माध्यमिक तह अध्यनरत ६ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ६ हजारका दरले १ लाख ८ हजार रुपैयाँ वितरण गरिएको संस्थाकी विद्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिनु भएको छ। त्यस्तै संस्थाले विद्यालय देखि टाढा घर भएका १५ जना विद्यार्थीहरु १ लाख २९ हजार बराबरको नयाँ साईकल समेत वितरण गरेको छ।


विपन्न विद्यार्थीलाई अध्यन कार्यमा सहयोग गर्दै पढाइप्रति थप आकर्षित गर्ने उदेश्यले उक्त नगद तथा नयाँ साइकल वितरण गरिएको संस्थाकी महिला शसक्तिकरण संयोजक सरिता चौधरीले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौधरी,शिक्षा, युवा तथा खेलकुद प्रमुख विश्वास विक ,सर्वोदय माविका प्रधानाध्यापक गोविन्द केसी ,समाजसेवी जगत प्रसाद पोख्रेल ,सुरेश चौधरी,संस्थाकि प्रेसा चौधरी लगायतको सहभागीता रहेको थियोे । वि.सं. २०६४ सालमा दाङको गढवागाउँ पालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले जानकारी दिनुभयो ।