
शरद शर्मा मजगैया
तुलसीपुर,१४ वैशाख ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आधारित “Teaching Guidelines Training” भव्य रूपमा शनिबार तुल्सीपुर ९ बेलुवामा रहेको मेट्रो होटलमा सम्पन्न भएको छ। उक्त तालिममा प्रमुख प्रशिक्षकका रूपमा रवि किरणको सहभागिता रहेको थियो।
तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा स्कुल र दिव्यकुञ्ज एकेडेमीका शिक्षकहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको उक्त तालिमले शिक्षण विधि, कक्षा व्यवस्थापन तथा प्रेरणात्मक सीप विकासमा केन्द्रित रही शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी शिक्षकहरूलाई आधुनिक शिक्षण प्रविधि, विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण, तथा प्रभावकारी मूल्याङ्कन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय मापदण्डले शैक्षिक संस्थाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवस्थापन प्रणाली सुधारमा मार्गदर्शन गर्ने भएकाले यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने बताइएको छ। तालिमले शिक्षकहरूमा नयाँ सोच, नवीन शिक्षण शैली र जिम्मेवार पेशागत व्यवहार विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ। सहभागी शिक्षकहरूले पनि यस्तो किसिमको तालिमले आफूहरूलाई अझ प्रभावकारी शिक्षक बन्न प्रेरित गरेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा शैक्षिक गुणस्तर सुधार, विद्यार्थी सन्तुष्टि वृद्धि तथा संस्थागत विकासका लागि निरन्तर यस्ता तालिमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो। यस प्रकारका तालिमहरूले विद्यालयहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षण प्रणालीतर्फ उन्मुख गराउँदै समग्र शिक्षा क्षेत्रको स्तर उकास्न टेवा पुर्याउने अपेक्षा गरिएको छ।



लाइभदाङ । १४ बैशाख २०८३, सोमबार ०७:०० बजे