कपिलवस्तुमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

डिलाराम भुसाल
कपिलवस्तु, १३ वैशाख ।
कपिलवस्तुको हुलाकी सडक खण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। रोकिराखिएको ट्रकमा स्कार्पियो गाडी ठोक्किँदा दुर्घटना भएको बताएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार राति करिब ९ बजेतिर बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो (युपी ३२ सिए ८३४३) कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा सडक किनारमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकसँग ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका महाराजगन्ज नगरपालिका–११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रहरी निरीक्षक ढकालले भने, “स्कार्पियो तीव्र गतिमा रहेको प्रारम्भिक अनुमान छ। सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा गाडीमा सवार यात्रुहरू गम्भीर घाइते भएका थिए, जसमध्ये दुई जनाको उपचारकै क्रममा मृत्यु भयो।”

दुर्घटनामा महाराजगन्ज–११ बनगाईका ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ