
तुलसीपुर(दाङ), ११ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले सरसफाई ब्यबस्थापनकालागि टोललाई जिम्मेवार बनाउन थालेको छ । बजार क्षेत्रका वडाहरुका सबै टोल विकास संस्थाहरुलाई जिम्मेवार बनाएमा सरसफाई ब्यबस्थापनमा सहज हुने भन्दै यसरी प्रशिक्षित गर्न थालिएको तुलसीपुर उपमहानगरपालिका सरसफाई तथा फोहरमैला ब्यबस्थापन शाखा प्रमुख रेवा रावतले बताउनुभयो ।
“टोल–टोलमा उत्पादन भएको फोहर ब्यबस्थापनमा टोल विकास संस्थाले चासो देखाउनु पर्छ”,उहाँले भन्नुभयो“त्यो भएमा मात्रै पनि धेरै फोहर ब्यबस्थापन हुन्छ ।”
बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ९ का करिब ९० वटा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई फोहोर व्यवस्थापन र यसमा स्थानीय नेतृत्वको भूमिकाबारे विस्तृत सचेतना प्रदान गरिएको हो । शुक्रबार ६ र बजार क्षेत्रका अन्य टोल विकास संस्थाहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको रावतले बताउनुभयो ।
सरसफाई स्वास्थ्यसंग मात्र नभई प्रतिष्ठासंग पनि जोडिएको विषय भएकाले सबै एकजुट भएर लाग्नु पर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकामा ग्रामिण क्षेत्रमा सरसफाई व्यवस्थापन सहज देखिएपनि बजार क्षेत्रमा चुनौति बढ्दै गएको बताउनुभयो ।



लाइभदाङ । ११ बैशाख २०८३, शुक्रबार ०९:५४ बजे