दंगीशरण गाउँपालिकामा महिलाहरूका लागि एड्भान्स ड्राइभिङ तालिम सुरु

दाङ,२ बैशाख ।
दाङ, दंगीशरण — “सिप सिकौँ, रोजगारीको सिर्जना गरौँ” भन्ने मूल नाराका साथ दंगीशरण गाउँपालिकाको आयोजना तथा सेफवे ड्राइभिङ एण्ड वासिङ, तुल्सीपुर दाङको व्यवस्थापनमा महिलाहरूका लागि १३ दिने एड्भान्स ड्राइभिङ तालिम सुरु भएको छ।

बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष शम्भु गिरीले तालिमको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता, अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर र उद्यमी बन्न महिलाहरूलाई आग्रह गर्नुभयो। उहाँले गत वर्ष ८ जना महिलाहरूलाई बेसिक ड्राइभिङ तालिम प्रदान गरिएको र यस वर्ष एड्भान्स तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।


त्यस्तै, उपाध्यक्ष पिमा वली खड्काले महिलाहरूका लागि आयोजना गरिएको यस एड्भान्स ड्राइभिङ तालिमलाई अवसरका रूपमा लिएर सफल उद्यमी बन्न शुभकामना व्यक्त गर्नुभयो।