मोरङ हत्याकाण्ड : बैंक ग्यारेन्टी मिलाए बापत आउने ‘कमिशन’ का कारण हत्या

मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या गरिएको छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या गरिएको थियो ।

शम्भु चौधरी र राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार श्रेष्ठलाई पुस ५ मा र शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो ।

भारतीय चलचित्र ‘दृश्यम’ को शैलीमा हत्यापछि शव खाल्डोमा पुर्ने मुख्य योजनाकार हुन्, सिरहा घर भएका अनिलकुमार मण्डल । मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भएका शम्भु चौधरीको शव माघ १३ मा भेटिएको थियो ।

उनको शव भेटिएको ठाउँभन्दा २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको शव माघ १४ मा फेला परेको थियो । चौधरी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएको अनुसन्धानबाट थाहा भएको छ ।

कमिशनमा ‘किचकिच’ भएपछि हत्या

३ जना मृतक र मुख्य आरोपी अनिलकुमार मण्डलको बीचमा पूर्व चिनजान थियो । राजेन्द्रकुमार श्रेष्ठ जग्गाको कारोबार गर्थे । शम्भु चौधरीचाहिँ ठेक्कापट्टा गर्थे । सातदोबाटोमा रहेको एक फाइनान्सको अध्यक्ष छन्, अनिलकुमार मण्डल । अनिलले पठाओ जस्तै राइड सेयरिङ एप ‘सफल यात्रा’ पनि सञ्चालन गरेका छन् । राजेन्द्र श्रेष्ठसँग राम्रो सम्बन्ध भएका अनिल उनलाई जग्गा किन्ने ग्राहक भेट्टाउँथे र कमिशन लिन्थे ।

ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित धापाखेलमा मृत भेटिएका मोहनप्रसाद लिम्बुको विश्वासपात्र थिए– ‘राजेन्द्र श्रेष्ठ ।’ राजेन्द्रको मोटरसाइकल पछाडि बसेर हिँड्थे लिम्बु । शम्भु चौधरी र मोहन लिम्बुको पनि चिनजान थियो ।

शम्भुले दाङको लमहीमा बन्दै गरेको सडकको ठेक्कामा पार्टनरसीप गरेका थिए । त्यसका लागि उनलाई ‘बैंक ग्यारेन्टी’ चाहिने भयो । सो कुरा राजेन्द्र र मोहनसँग उनले सेयर गरे । अनिल मण्डलसँग पनि त्यसबारे सल्लाह भयो ।

राजेन्द्र, मोहन र अनिलले बैंक ग्यारेन्टी लिन जग्गा धितोमा राखेर कमिसनमा काम गर्ने मान्छे भेट्टाइदिए । उनि थिए–‘हरि खड्का ।’ ललितपुरमा रहेको डेढ अर्बको जग्गा राखेर ‘बैंक ग्यारेन्टी’ बनाउन खड्का सहमत भए । त्यसबापत उनीहरुले मोटो रकम कमिशन लिँदै थिए ।


‘बैंक ग्यारेन्टी’ तयार हुने र कमिशन आउने प्रक्रिया अन्तिम अवस्थामा पुगेपछि मोहन लिम्बुले ‘किचकिच’ गर्न थाले । कमिशन समूहमा बाँड्नुपर्ने थियो । अनि, अनिलकुमार मण्डलले कमिशन आफुमात्रै खानेगरी अरुको हत्या गर्ने योजना बनाए ।

‘कमिशन खाने विषयमा विवाद हुँदा ३ जनालाई हत्या गरेको थाहा भएको छ’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी भन्छन्– ‘कमिशन बाँड्ने क्रममा धेरै रकम एक्लै लिन्छु भनेर अनिलकुमार मण्डलले हत्या योजना बनाएको देखिन्छ, थप अनुसन्धान गर्दैछौं ।’

कमिशन लिनेबारे धेरै किचकिच गरेको आरोपमा अनिलले धापाखेलमा भाडामा लिएर घरमा लिम्बुलाई पहिले हत्या गरेका थिए । विराटनगर पुगेपछि पुस ५ मा राजेन्द्रको हत्या गरे । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार अनिलले पहिले शम्भुलाई हत्या गर्ने योजना बनाएका थिएनन् । ‘तर, शम्भुलाई छाड्दा कर्तुत खुल्ने डरले पुस ७ मा उनको पनि हत्या गरेको देखिन्छ ।’

मंसिर २९ मा राजेन्द्र र शम्भुसँगै अनिल विराटनगर गएका थिए । एउटै गाडीमा गएर दुवैजनालाई मारेपछि उनी काठमाडौं फर्केको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विराटनगरमा मृत फेला परेका दुवैजनालाई उखुबारीमा नै हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी जिसीले रातोपाटीलाई बताए ।

भाडाको घरमा हत्या
ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित दिप्ती गुरुङको घर भाडा लिएर मोहनप्रसाद लिम्बुको हत्या गरेको थाहा भएको छ । अनलाइनको व्यापार गर्न गोदाम राख्ने र कार्यालय राख्ने भनेर भाडामा लिएको घरमा उनको हत्या गरिएको थियो ।

तेह्रथुम घर भएका ६२ वर्षीय लिम्बुको शव बिहीबार प्रहरीले घरको पछिल्लो भागबाट खनेर निकालेको थियो । घरको पछाडिको भागबाट ५ फिट मनिबाट शव निकालिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘शव गलाउन नुन हालेको र ढलान गरेको देखिन्छ ।’

हत्यामा संलग्नहरूले लिम्बुको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घाँटीमा डोरी कसेको अवस्थामा शव उत्खनन् गरिएको छ । आरोपीहरुले शुरुमा कोठाभित्रको ढलान काटेर गाड्नका खोजेको देखिएको छ । ‘टायल काट्ने मेशिनले ढलान काटेको देखिन्छ’ एसएसपी कुँवर भन्छन्–‘पछि घर पछाडि कम्पाउन्डभित्र माटो खनेर पुरेको देखिन्छ ।’

धापाखेलमा लिम्बुको हत्या गरेर शव ब्यवस्थापन परेपछि अनिलकुमार मण्डल शम्भु चौधरी र राजेन्द्रकुमार श्रेष्ठसँगै विराटनगर गएका थिए । त्यहाँ श्रेष्ठलाई पुस ५ मा र शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । साभारः रातोपाटी