
दाङ,३० चैत ।
दाङमा एक साताको अवधिमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका आठ सवारी साधन नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले संयुक्त रूपमा सञ्चालन गरेको अनुगमनका क्रममा ती सवारी साधनलाई कारबाही गरिएको हो। प्रहरीका अनुसार मिति २०८२ फागुन १ गतेदेखि २०८२ फागुन ७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपमा उत्खनन् भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा उत्खनन् कार्यमा संलग्न आठ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। ती सवारी साधनबाट कुल रु.२,००,८०९।– (दुई लाख आठ सय नौँ मात्र) जरिवाना असुल गरिएको छ। जरिवाना तिरेपछि सवारी साधन सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाएर छाडिएको पनि प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले अवैध उत्खनन् नियन्त्रणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई तीव्रता दिएको जनाएको छ। नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन् गर्दा वातावरणीय क्षति, भूक्षय तथा नदीको प्राकृतिक बहावमा असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न विशेष ध्यान दिइएको प्रहरीले उल्लेख गरेको छ।
यसैबीच, स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वयमा अवैध उत्खनन् विरुद्ध थप कडाइ गरिने जनाइएको छ। प्रहरीले कानुन विपरीत नदीजन्य पदार्थ उत्खनन्, ओसारपसार वा संलग्नता देखिएमा कडा कारबाही गरिने चेतावनी दिएको छ। स्थानीयवासीलाई पनि यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ।



लाइभदाङ । ३० चैत्र २०८२, सोमबार २१:१७ बजे