अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तुलसीपुर, ८ असार । विज्ञान शिक्षक समाज नेपाल, तुलसीपुर नगर कार्य समिति दाङले भव्य रुपमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार यस कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो । तुलसीपुर अन्तरगतका जम्मा ४३ विद्यालयले सहभागिता जनाएका थिए जस मध्ये संस्थागत तर्फ २४ विद्यालय र सामुदायिक तर्फ १९ विद्यालयहरूले सहभागिता रहेको थियो । दुई चरणमा सम्पन्न यो खेलमा पहिलो चरणमा उत्कृष्ट १० विद्यालयहरू दोश्रो चरणमा प्रवेश गरेका थिए । दोश्रो चरणमा प्रवेश गरेका विद्यालयहरू अमर इ.बो.स्कूल कलाखोला, गुरु जजुर मा वि., ज्ञान ज्योती इ.स्कूल तुलसीपुर, हाम्रो पहुँच, आइडियल, मरिगोल्ड, पारिजात, राप्ती बाल एकेडेमी, शान्ति दीप इ.बो., र मा. वि. कालाखोला बिच अत्यन्तै रोचक प्रतिष्पर्धा भएकोमा आइडियल इ.वो. स्कूल प्रथम, अमर इ. बो.स्कूल कलाखोला द्वितीय, मेरिगोल्ड इ.बो.स्कूल तेश्रो र राप्ती बाल एकेडमीले सान्त्वना स्थान हासिल गर्न सफल भएका थियो । यसरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः पाच हजार, तीन हजार, दुई हजार, पाच सय र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । दाङ भ्याली मा. वि. तुलसीपुरको प्रायोजनमा सञ्चालित यो कार्यक्रम को सहजीकरण शिक्षा युवा तथा खेलकुद महाशाखा तुलसीपुरले गरेको थियो । शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यमा र विज्ञान शिक्षक समाज तुलसीपुर नगर कार्य समितिका अध्यक्ष रुपेश गुप्ताको अध्यक्षतामा सम्पन्न यो कार्यक्रममा तुलसीपुर भित्रका विज्ञान शिक्षक दाङ स्टान सचिव तिलक साहु, पूर्व सचिव गिरिराज लम्साल, प्रदेश सदस्य मानबहादुर बस्नेत, सल्लाहकार विष्णु भण्डारी, थानेश्वर आचार्यका लगायतका विशिष्ट व्यक्तित्वहरू को सहभागिता रहेको थियो । एसटिएन तुलसीपुरका उपाध्यक्ष नारायण बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यक्रममा हाल सम्मकै बढी विद्यालय सहभागी भएको कार्यक्रम भएको विज्ञान शिक्षक समाज नेपाल, तुलसीपुर नगर समितिका अध्यक्ष रुपेश गुप्ताले दावी समेत गर्नुभएको छ । कार्यक्रमको सञ्चालन एसटिएन तुलसीपुरका सचिव दीपक ओली ले गर्नु भएको थियो ।