गत माघ १३ र १४ गते मोरङको धनपालथन गाउँपालिका ७ को उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुईजनाको हत्या तुलसीपुर–घोराही फोरलेन सडकसँग सम्बन्धित रहेको पाइएको छ । हत्या गरि उखुबारीमा शव गाडिएका शम्भु चौधरी तुलसीपुर–घोराही फोरलेन सडकका नयाँ ठेकेदार भएको पाइएको छ ।
१ अर्ब ३५ करोड लागतको उक्त ठेक्का शम्भु चौधरी लगायतका समूहले हालसालै मात्रै अर्का पेटी ठेकेदार अनुप पाण्डे लगायतको समूहबाट लिएको दाबी गरिएको छ । ठेक्का लिँदा शम्भुको समूहले पाण्डे समूहलाई करिब ५ करोड रुपैयाँ बुझाइसकेको बताइएको छ । शम्भुको समूहले तुलसीपुर–घोराही सडकखण्ड निर्माणका लागि बैंक ग्यारेन्टी राख्नका लागि जग्गाको समेत खोजी गरिरहेका थिए । त्यही क्रममा उनको हत्या भएको थियो ।
प्रहरी स्रोतका अनुसार तुलसीपुर–घोराही फोरलेन सडकखण्ड निर्माणका सम्बन्धमा संलग्नता र लेनदेनका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार उक्त सडकखण्ड निर्माणको नयाँ ठेक्काको लागि शम्भु चौधरीको समूहले अनुप पाण्डेलाई केही रकम बुझाइसकेको छ ।
तर रातोपाटीसँग सम्पर्कमा आएका पाण्डेले आफूले शम्भुको समूहबाट १९ लाख रुपैयाँ मात्रै लिएको बताएका छन् । नयाँ ठेक्का उनीहरूले लिएको र त्यसका लागि अष्टभैरव निर्माण सेवा कम्पनी र शम्भुको समूहबीच सम्झौता भएको पनि उनले बताएका छन् । तर उनको हत्याको सम्बन्धमा आफू अनभिज्ञ रहेको पाण्डेले रातोपाटीलाई बताए ।
२३ किलोमिटर लामो घोराही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने भन्दै संघीय सरकारले १ अर्ब ३५ करोड बजेट निकासा गरेको थियो । ग्लोबल टेण्डर आव्हान गर्दा उक्त टेण्डर भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले पाएको थियो । त्यसको नेपाली साझेदारी नेपालका ठेकेदार कम्पनी अष्टभैरव निर्माण सेवा कम्पनीले पाएको थियो । अष्टभैरव निर्माण सेवा कम्पनीका तर्फबाट त्यसका सञ्चालक अनुप पाण्डेले उक्त ठेक्का लिएका थिए । यद्यपि कागजात मिलाउने क्रममा भने पाण्डेले तथ्य इञ्जिनियरिङको आधिकारिक नेपाल प्रतिनिधि बनेर मात्रै पावर अफ अटोर्नी लिएका थिए ।
संघीय सरकारको बजेटमा २८ जनवरी २०१९ मा नेपाल सरकार र तथ्य इञ्जिनियरिङबीच १ अर्ब ३५ करोड नेपाली रुपैयाँमा उक्त ठेक्का सम्झौता भएको थियो । २९ जनवरी २०१९ बाट काम सुरु गरी ३० महिनामा काम सक्नुपर्ने भएपनि हालसम्म ७ प्रतिशत मात्रै काम भएको छ । कोभिडका कारण भन्दै एकपटक ६ महिना दोस्रोपटक ४ महिना म्याद थप गरेका थिए । थप गरिएको समय अनुसार पनि आगामी वैशाखमै काम सकिसक्नु पर्ने थियो ।
तर नेपालमा पेटी ठेक्का लिएका ठेकेदार कम्पनी अष्टभैरवका अनुप पाण्डेले काम गर्न नसकेको भन्दै भारतीय ठेकेदार कम्पनीले पुनः अर्को ठेकेदार जिम्मा दिएको बुझिएको छ । यद्यपि पाण्डेले सडक बनाउन भन्दै राम्री भन्ने स्थानको पहाडबाट करोडौँ रकमको ढुङ्गा र ग्वार खोलाबाट बालुवा निकालेर विक्री गरेको आरोप लागेको छ । पाण्डेले तथ्य इञ्जिनियरिङको नामको र आफ्नै निर्माण कम्पनी अष्टभैरवको नामबाट समेत व्यवसायीलाई चेक दिएका थिए । कतिपय व्यक्ति साक्षी बसेर सामान झिकिदिएको पैसासमेत पाण्डेले नदिएको एक व्यवसायीले रातोपाटीलाई बताए । साभारः रातोपाटी
लाइभदाङ । २१ माघ २०७८, शुक्रबार १३:०९ बजे