लमहीमा लेखापढी व्यवसायी पक्राउप्रति आपत्ति, रिहाइको माग

दाङ,२२ चैत ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, इकाई समिति लमही दाङले आफ्ना सदस्यहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

संस्थाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चैत २२ गते आइतबार मालपोत कार्यालय लमही दाङमा सेवा प्रवाह गरिरहेका लेखापढी व्यवसायीहरूलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरीहरूले सादा पोशाकमा आएर पक्राउ गरेका थिए । पक्राउ परेका सदस्यहरूले अदालतबाट आवश्यक प्रमाणपत्र प्राप्त गरी तथा सम्बन्धित निकायबाट अनुमति लिएर कानुनअनुसार काम गर्दै आएको संघको दावी छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार मालपोत कार्यालयको सूचनाअनुसार परिचय खुल्ने कागजातसहित सेवाग्राहीलाई सेवा दिइरहेका बेला प्रहरीले बिना कारण धरपकड गरेको भन्दै संघले आपत्ति जनाएको हो । यस घटनाले व्यवसायीहरूको हकअधिकारमाथि हस्तक्षेप भएको संघको ठहर छ ।


संस्थाले निर्दोष लेखापढी व्यवसायीहरूलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेको छ । साथै यस्ता गतिविधि तुरुन्त बन्द नगरे लमही क्षेत्रका सबै भू–सेवा केन्द्रहरू बन्द गर्ने चेतावनी पनि दिइएको छ ।

संघले यस घटनाबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै कानुनसम्मत रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।