
दाङ, १२ भदौ ।
दाङको तुलसीपुरमा ‘स्मार्ट टिम नेटवर्कस प्रालि’ले ‘स्मार्ट परिवार’ र ‘स्मार्ट ड्राइभर’ नामक मोबाइल एपहरू सार्वजनिक गरेको छ । शुक्रबार तुलसीपुरमा भएको कार्यक्रमकाबीच पूर्वप्रतिनिधिसभा सदस्य सुजिता शाक्यले एपहरूको उद्घाटन गरेकी हुन् । ३ बर्षअघि देखि यी एप निर्माण सुरुवात गरिएको प्रालिका निर्देशक दुर्गा गिरीले बताए ।
सार्वजनिक गरिएका एपहरूमध्ये ‘स्मार्ट परिवार’ एप अन्तर्गत सर्वसाधारणले घरमै बसीबसी‘स्मार्ट सफारी’ मार्फत सवारी बुकिङ र लाइभ ट्रयाकिङ्ग गर्ने,‘स्मार्ट बस’ मार्फत लामो दूरीका बसको सिट रोजेर डिजिटल टिकट काट्ने, ‘स्मार्ट किचन’ बाट रेस्टुरेन्टको स्वस्थ खाना मगाउने, ‘स्मार्ट शोरुम’ मार्फत स्थानीय पसलका सामग्री अर्डर गर्ने ‘स्मार्ट टिभी’ मार्फत एपभित्रै नेपाली भिडियो सामग्रीहरू हेर्न सक्ने सुविधाहरू उपलब्ध छन् ।
यसैगरी चालकहरूका लागि विकास गरिएको ‘स्मार्ट ड्राइभर’ एपमार्फत चालकहरूले सजिलै दर्ता भई आम्दानीको हिसाब राख्न र सवारी अनुरोध स्वीकार गर्न सक्नेछन् । काठमाडौंलगायतका सहरमा पठाओलगायतले गर्ने काम समेत यो एप मार्फट गर्न सकिने निर्देशक गिरीको भनाई छ । गिरीका अनुसार हाल मोटरसाईकल, अटो रिक्सा, कारलाई एक महिनासम्म निःशुल्क दर्ता गर्ने समेत ब्यबस्था गरिएको छ ।
उनका अनुसार ठूला सहरमा मात्र सीमित प्रविधिलाई दाङमा भित्र्याएको हो । हाल यी एपहरू एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि smartpariwar.com/download बाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ ।
त्यस अवसरमा प्रमुख अतिथि शाक्यले दाङमा यस्तो एप्स् उद्घाटन हुनु अनुकरणीय रहेको बताईन् । चरम बेरोजगारीका कारण दैनिक हजारौँ युवाहरू विदेश गइरहेको अबस्थामा स्थानीय स्तरमै रोजगारी सिर्जना गरी युवाहरूलाई आफ्नै भूमिमा रोक्न र दाङको समग्र समृद्धिमा टेवा पु¥याउन यसको भूमिका महत्वपूर्ण हुने समेत बताईन् ।
यो एपले केवल यातायात मात्र नभएर सुरक्षा, डिजिटल मार्केटिङ र होटल तथा रेस्टुरेन्टहरूसँग सहकार्य गरी स्वस्थ खाद्यान्न डेलिभरी जस्ता क्षेत्रलाई समेटेको उनको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुरका सभापति सुरेश हमालले संसार नै मोबाइलमा केन्द्रित भइसकेको अवस्थामा यस प्रकारको प्रविधिको सुरुवात तुलसीपुरबासीका लागि खुसीको कुरा भएको बताए । उनले यो एपले यातायात, डेलिभरी र व्यावसायिक क्षेत्रमा ठूलो सहयोग पु¥याउने बताए ।
त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले समय र प्रविधिको गतिसँगै चल्न नसके समाज पछि पर्ने धारणा राखे । स्मार्ट टिम नेटवर्कस प्रालिका अध्यक्ष अरुण श्रेष्ठले दाङमा मात्रै नभई यो एप्सबाट देशभरमै सेवा गर्ने बताए ।
कार्यक्रमको सहजीरकण प्रेम विवस घर्तीले गरेका थिए ।



लाइभदाङ । १२ भाद्र २०८३, शुक्रबार २२:३३ बजे