आईजीपी कार्कीद्वारा गढवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

आलोक भावुक
गढवा,१९ चैत ।
दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गर्नुभएको छ।

बेलायत सरकारको सहयोग तथा ग्ल्इएक् को सहकार्यमा निर्माण गरिएको उक्त भवनले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित संवेदनशील मुद्दाहरूमा पीडितमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले नयाँ संरचनाले न्यायमा सहज पहुँच, सुरक्षित वातावरण र सेवाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहांले पीडितलाई सम्मानजनक व्यवहारसहित सेवा प्रदान गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै “प्रत्येक नागरिकको आवाज सुन्ने प्रहरी संगठन निर्माणमा हामी प्रतिबद्ध छौं” भन्नु भयो।

उहांले सामाजिक सञ्जालमा प्रहरीसँग खिचिएको फोटो प्रयोग गरेर सर्वसाधारणलाई प्रभाव पार्ने वा डरत्रास सिर्जना गर्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै त्यस्ता गतिविधिले निर्दोष व्यक्तिहरूलाई भ्रमित पार्न सक्ने बताउनु भयो। साथै, प्रत्येक मुद्दामा जवाफदेहिता सुनिश्चित गरिने र कुनै पनि किसिमको ‘टाठाबाठा’ संस्कृति अन्त्य गरिने स्पष्ट पार्नुभयो।

करिब २ करोड ६० लाख ३३ हजार ५ सय ४९ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन २८७।२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। २०८१ सालमा सम्झौता भएको निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएको हो।


भवनको भुइँतलामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालमैत्री कक्ष, बैठक कक्ष तथा प्रशासन कक्षको व्यवस्था गरिएको छ भने तीन वटा शौचालय निर्माण गरिएको छ। पहिलो तल्लामा आवासीय कक्ष, भान्सा तथा भोजन कक्ष र दुई वटा शौचालय रहेका छन् भने दोस्रो तल्लामा सोलार प्रणाली र खुला छतको व्यवस्था गरिएको छ।

कार्यक्रमका क्रममा भवन निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा इलाका प्रहरी कार्यालय गढवाका पूर्व प्रहरी निरीक्षक कालिका कार्की लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो। उद्घाटनपछि आईजीपी कार्कीले प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गर्नुका साथै त्यहाँस्थित मन्दिरको दर्शन समेत गर्नु भएको थियो। कार्यक्रमको सुरुवात इन्द्र न्यौपानी (पूर्व प्रहरी नायब महानिरीक्षक) को स्वागत मन्तव्यबाट भएको थियो भने शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ सेवा केन्द्र सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीहरूको दर्ता, अनुसन्धान र परामर्श सेवा अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै संवेदनशील सेवाको विस्तारले पीडितलाई न्यायमा सहज पहुँच दिलाउने विश्वास गरिएको