दाङमा ‘हेविवेट’का पुरुषसंग महिलाको प्रतिस्पर्धा !

दीपक बोहरा
दाङ, ७ कात्तिक ।
सधैजसो चासोका साथ हेरिने गरेको दाङको निर्वाचन यस बर्ष झनै रोचक हुने देखिन्छ । केन्द्रमै प्रभाबशाली भूमिकामा रहेका नेताहरु काँग्रेसका दिवंगत खुमबहादुर खड्का, माओवादी केन्द्रका कृष्णबहादुर महरा,एमालेका शंकर पोखरेलको जिल्ला भएकाले पनि यहाँको निर्वाचन मुलुकै चर्चाको विषय बन्छ ।

               

अहिले भने झनै रोचक हुने देखिन्छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा महिला उम्मेदवार र पुरुष उम्मेदवारबीच नै कडा डक्कर हुने देखिन्छ । दाङ क्षेत्र नंं. १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणी चौधरी र एमाले, राप्रपा, जनता समाजवादीलगायतबाट एमालेका शान्ता चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै दाङ क्षेत्र नं.२ बाट एमाले, राप्रपा, जनतासमाजवादीसहितका दलको समर्थनमा एमाले महासचिब शंकर पाखरेल र बाम लोकतान्त्रिक गठबन्धनबाट रेखा शर्मा तथा क्षेत्र नं.३ बाट गठबन्धनका उम्मेदवार काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसंग एमाले, राप्रपा, जनता समाजवादीलगायतका दलका तर्फबाट कोमल वली चुनाबी मैदानमा छन् ।

क्षेत्र नं. १ : मेटमणी र शान्ताको लडाई
दाङ क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवारी एकीकृत समाजवादीका नेता मेटमणी चौधरी चुनाबी मैदानमा छन्, भने उनको प्रतिस्पर्धीमा एमालेकी शान्ता चौधरी छन् । मेटमणी सहरी विकास मन्त्री समेत छन् । उनी दोस्रो पटक निर्वाचन लड्दैछन् । यस अघि २०७४ सालमा बाम गठबनधन हुँदा देउखुरीबाट काँग्रेसका उम्मेदवार शुसिला चौधरीलाई हराउँदै विजयी भएका थिए ।

शान्ता चौधरी २०७४ सालको निर्वाचनबाट समानुपातिक सांसद हुँदै एमालेकी सचेतक भएकी हुन् । त्यो संगै उनी दुई पटक समानुपातिक सांसद भएकी छिन् । मुलुकमा गणतन्त्र स्थापना पछि भएको पहिलो संविधानसभा २०६४ मा उनी पहिलो पटक एमालेबाट समानुपातिक सांसद भएकी थिइन । दुईपटक समानुपातिक सांसद भएकी उनी दोस्रो पटक प्रत्यक्ष निर्वाचन लड्दैछन् । यस अघि लडेको प्रत्येक्ष निर्वाचनमा उनले हार ब्यहोरेकी थिइन् । ०७० सालको संविधान सभाको निर्वाचनमा दाङ २ बाट प्रत्येक्ष चुनाब लडेकी उनी काँग्रेसकी शुसिला चौधरीसंग पराजित भएकी थिइन् । अहिले पनि त्यही क्षेत्रबाट लड्दैछन् ।

तत्कालिन अबस्थामा क्षेत्र नं.२ देउखुरी क्षेत्रमा पथ्र्यो । संघीयता पछि समग्र देउखुरीलाई समेटेर, घोराही र बंगलाचुलीको केही वडा समेटेर क्षेत्र नं.१ बनाईएको छ । अहिले पनि भुगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दैछन् । उद्यपी उनको मतदाता घोराही उपमहानगरपालिका वडा नं. ४ म पर्छ । त्यो निर्वाचन क्षेत्र नं.२ हो । त्यही ठाउँबाट पाँच दलिय गठबन्धनको सामना गर्नुपर्ने छ । स्थानीय निर्वाचनमा वडाहरुले पाएको मत अनुसार काँग्रेसको २९ हजार ७ सय ५७, माओवादी केन्द्रको १९ हजार २ सय ७६, एकीकृत समाजवादीको २ हजार तीनसय ४१ र जनमोर्चाको २ हजार पाँचसय ९५ गरि जम्मा ५३ हजार ९ सय ७० मत हो, भने एमालेको २७ हजार २५ मात्रै मत हो ।

यसरी हेर्दा गठबन्धन एमाले भन्दा दोब्बर मत मतले अघि देखिन्छ । एकीकृत समाजवादीको आफ्नै मत कम्जोर भएकाले काँग्रेस र माओवादीले धोका नदिएमा जित्न सक्ने देखिन्छ । तर, मत गठबन्धन भन्दा बाहिर नजाने गठबन्धनका उम्मेदवार मेटमणी चौधरीले बताए । ‘यो गठबन्धन कुनै चुनाब जित्नलाई मात्रै नभई यो बिशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको गठबन्धन हो’, गठबन्धनका उम्मेदवार मेटमनी चौधरी भन्छन्‘त्यसैले गठबन्धनको मत बाहिर जाँदैन,चुनाबी हामील जित्छौं ।’

यहाँ सबै उम्मेदवारको आँखा थारु मतदातामै छ । किनभने थारुको बाहुल्यता भएको निर्वाचन क्षेत्र हो । शान्ता चौधरीले पनि आफू पूर्व कम्लरी हुँदै कम्लरी मुक्तीकालागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा गरेकी छन् ।‘ थारु समुदाय निकै पछाडी परेको समुदाय हो, म आफै पनि अर्काको घरमा कम्लरी बसेर आएको मान्छे हुँ’,उनले भनिन्‘त्यस्तो महिला अहिले चुनाबी मैदानमा छु, अवसर पाए गर्न सक्ने छबि पनि बनेको छ, त्यसैले मैले जित्न सक्छु ।’

क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गंगा चौधरीले पार्टी परित्याग गरि भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छिन् । उनी पटक–पटक समानुपातिक भएकी सांसद हुन् । २०७० सालमा उनी थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद भइन, भने २०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी हुन् । उनी सांसदमा खह्रो रुपमा आफ्ना कुरा राख्ने हुँदा चर्चित पनि थिइन् । त्यसले गर्दा उनले चौधरी समुदायका केही मत काट्न सक्ने आँकलन गरिएको छ ।

त्यहाँ थारु समुदायबाटै नागरिक उन्मुक्ती पार्टीका सुरेन्द्र चौधरी पनि चुनाबी मैदानमा छन् । उनी काँग्रेसका समानुपातिक उम्मेदवार योगेन्द्र चौधरीका दाई हुन् । त्यस्तै स्वतन्त्र पार्टीबाट देवराज पाठक चुनाबी मैदानमा छन् । यी दुईजनाले गठबन्धनको मत तान्न सकेमा मेटमणीलाई गाह्रो पर्न सक्ने स्थानीय जानकार ज्योति नेपालीले बताए ।‘गठबन्धनको मत सुरेन्द्र चौधरी र स्वतन्त्र पार्टीले तानेमा मेटमणीलाई गाह्रो पर्न सक्छ’,उनले भने‘तर, थारु समुदायको बाहुल्यता भएको क्षेत्रमा थारुको मत बाँडियो भने गठबन्धनलाई गाह्रो पर्न सक्छ ।’

क्षेत्र नं. १ मा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिकाको वडा नं.१,२,३ र ५ नम्बर वडा पर्छन् । ति मध्ये गढवा र राप्ती गाउँपालिका माओवादी केन्द्रले जितेको छ, भने राप्ती गाउँपापलिका र लमही नगरपालिकामा काँग्रेसले जितेको छ । घोराहीका १,२,३ र ५ वडामा भने एमालेले जितेको छ ।

क्षेत्र नं.२ : शंकर र रेखाबीचको कडा टक्कर
दाङ क्षेत्र नं.२ मा एमालेका प्रभाबशाली नेता शंकर पोखरेलसंग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटि सदस्य रेखा शर्माबीच टक्कर रहेको छ । शर्मा यस अघि दुई कार्यकाल समानुपातिक सांसद भएकी छिन् । २०७० र २०७४ सालको निर्वाचनमा उनी समानुपातिक सांसद भएकी हुन् ।

२०७२ सालमा उनी सामान्य प्रशासन मन्त्री समेत भइन । उनै रेखा पटक–पटक प्रत्येक्ष निर्वाचन लडेका पोखरेलसंग पहिले पटक प्रत्यक्ष निर्वाचन सामना गर्दैछिन् । एमाले महासचिब पोखरेल पनि धेरै पटक प्रत्येक्ष निर्वाचन लडेपनि विरलै सफलता प्राप्त गरेका ब्यक्ती हुन् । २०५१ सालको प्रतिनिधिसभा सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा मात्रै उनले सफलता हात पारे ।

त्यो बाहेक उनी २०५६ सालको चुनाबमा कृष्णकिशोर घिमिरेसंग हार ब्यहोरे, भने २०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं.४ बाट बुद्धिराम भण्डारीसंग हार ब्यहोरे । २०६४ सालको निर्वाचनमा उनी समानुपातिक सांसद बने । यो बीचमा उनी पटक–पटक मन्त्री भए भने २०७४ सालको निर्वाचन पछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री पनि बने । त्यतिबेला उनी दाङ क्षेत्र नं.२ को प्रदेशसभा १ रोजेका थिए । संघमा महरा र प्रदेशमा पोखरेल चुनाब लडेका थिए । अहिले उनी पोखरेल र शर्माबीच कडा टक्कर हुने देखिन्छ ।


स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा बाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारको कडा टक्कर हुने देखिन्छ । एमालेका उम्मेदवारहरुले क्षेत्र नं. २ मा ३३ हजार ५९३ मत ल्याएका थिए , भने नेपाली काँग्रेसका उम्मेदवारले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरुले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ९४२ गरि जम्मा ३६ हजार ७ सय २१ मत ल्याएका थिए ।

गठबन्धनका दलहरुबाट इमान्दारिता पूर्वक मत नआएको सन्भर्दमा एमालेको पोल्टामा नतिजा जान सक्ने अनुमान गरेपनि गठबन्धनमा इमान्दारिता भए रेखाले जित्न सक्ने त्यस क्षेत्रका जानकार हस्त केसीले बताए ।‘घोराहीमा माओवादीको मत रेखालाई लगभग सबै जान सक्छ, काँग्रेसको मत इमान्दारिता पूर्वक आएमा रेखाले जित्न सक्नुहुन्छ’,उनले भने‘तर, शंकर पोखरेले प्रभाबशाली नेता भएकाले काँग्रेसको मत तान्न सकेभने गठबन्धनलाई गाह्रो पनि पर्न सक्छ ।’

एमालेका महासचिब शंकर पोखरेलले भने आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा विकास गरेको भन्दै आफ्नो जित्ने आधार त्यही भएको बताउछन् ।‘म मुख्यमन्त्री हुँदा एउटा स्थिति पत्र सार्वजनिक ग¥यौं, त्यसैका आधारमा योजनाहरु बने’,उनले भने‘ प्रदेश मुकाम भालुवाङ ल्यायौं, अन्य विकास निर्माणका थुप्रै कामहरु ग¥यौं ।’

गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका स्थायी कमिटि सदस्य शर्माले पनि कुनै ब्यक्ती बलियो नभई एजेण्डा बलियो हुने बताईन् ।‘कुनै पनि ब्यक्ती बलियो हुने होईन्, हाम्रा एजेण्डा बलिया हुन्’,उनले भनिन्‘ गणतन्त्र प्राप्ती, संविधान निर्माण, महिला र दलितको अधिकार स्थापित गर्ने कुरामा मेरो भूमिका महत्वपूर्ण छ, अब यो कुराहरुलाई जोगाउने गठबन्धनको दायित्व हो, त्यसैले पनि गठबन्धन भन्दा बाहिर मत जाने कुरा रहदैन ।’

क्षेत्र नं. २ मा बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरापलिकाका १५ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । जसमा बंगलाचुली गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले विजयी हाँसिल गरेका छन्, भने क्षेत्र नं.२ मा पर्ने घोराहीका १५ वटा वडा मध्ये ९ वटा वडामा एमाले, ५ वटा वडामा काँग्रेस र एउटा वडामा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । त्यस्तै सोही क्षेत्रमा पर्ने तुसीपुरका दुईवटा वडामा एमाले, एउटा वडामा काँग्रेस र अर्को वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्यहाँ स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रलाई समर्थन गरेका छन् ।

क्षेत्र नं. ३ : दिपक गिरीसंग कोमल वली
दाङ क्षेत्र नं. ३ मा पटक पनि पटक–पटक प्रत्येक्ष निर्वाचन लडेर निखारिएका ब्यक्ती काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसंग एमालेकी कोमल वलीले पहिलो पटक प्रतिस्पर्धा गर्नुपर्ने छ । तर, गिरीले यस अघि एक पटक मात्रै निर्वाचन जितेको इतिहास छ ।

२०५१ सालमा तत्कालिन दाङ क्षेत्र नं.३ बाट एमाले नेता शंकर पोखरेलसंग हार ब्यहोरेका गिरीले २०५६ सालमा निर्वाचन लडेनन् । उनको ठाउँमा गेहेन्द्र गिरी चुनाब लडे र जिते । त्यसपछि २०६४ सालमा दाङ क्षेत्र नं.५ बाट माओवादीका शुष्मा शर्मा घिमिरेसंग चुनाब हारे । उनले जितेको भनेको २०७० सालमा हो ।

निटकतम प्रतिद्वन्दी एमालेका दिवंगत उत्तरकुमार वलीलाई उनले पछि पार्दै जित हात पारेका थिए । त्यसपछि उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि तत्कालिन एमालेका जिल्ला सचिब हिराचन्द्र केसीसंग हार ब्यहोरेका थिए । प्रत्येक्ष निर्वाचनमा धेरै लामो अनुभव भएपछि काँग्रेसको गढ मानिने पश्चिम दाङमा पटक–पटक हार ब्यहोर्दै आएका गिरीले अहिले भने एमालेबाट पहिलो पटक प्रत्येक्ष निर्वाचन लडेकी कोमल वलीसंग प्रतिस्पर्धा गर्दैछन् । वली यस अघि एमालेमा गएपछि २०७४ सालमा राष्ट्रियसभा सदस्य भएकी थिइन् ।

क्षेत्र नं.३ मा काँग्रेस भित्रको लडाई चरम छ । गेहेन्द्र गिरी र दीपक गिरीबीचको लडाईले पटक–पटक चुनाब एमालेको पोल्टामा जाने गर्छ । काँग्रेसको बलियो क्षेत्रका रुपमा रहेको दाङमा पटक–पटक एमाले जित्ने गरेको छ । यस अघि गठबन्धन भएपनि गहेन्द्र गिरीले निर्वाचन हारे । त्यस्तै घात काँग्रेस भित्र रह्यो भने यो पटक पनि गठबन्धनलाई असर गर्न सक्छ । तर, काँग्रेसबीच एकजुट हुने र माओवादीको अधिकांस मत तान्न सकेमा पश्चिम दाङमा दिपक गिरीले जित्न सक्ने शान्ति नगर निवासी कमल रोका बताउछन् ।‘काँग्रेस एक जुट भएमा यहाँ गठबन्धनको पक्षमा माहोल बन्न सक्छ, काँग्रेस बलियो शक्ति पनि हो’,उनले भने‘यदि काँग्रेस भित्र फुट भएमा नतिजा कोमल वलीको पक्षमा पनि जान सक्छ ।’

गिरीले आफू सांसद र मन्त्री हुँदा पश्चिम क्षेत्रमा गरेको विकासले नै जित्ने आधार तयार गरेको बताउछन् ।‘म ९ महिना मात्रै मन्त्री हुँदा पश्चिम दाङका बाटाघाटा कालोपत्रे गर्ने, खोलाहरुमा पुल हाल्ने, सिंचाई सुविधा पु¥याउन बृहत दाङ उपत्यका सिंचाई आयोजनाको कार्यालय नै खोले’,उनले भने‘यस्ता थुप्रै विकासका कामहरु गरेकाले पनि मलाई यहाँका जनताले भोट दिन्छन् ।’ पश्चिम दाङ अझै पनि विकासका हिसाबले पछि परेकाले यहाँको विकास गर्ने कुरामा आफू प्रतिबद्धतासाथ लाग्न यो चुनाबमा होमिएको उनी बताउछन् ।

वलीले पनि आफू राष्ट्रियसभा सदस्य हुँदा जनतासंग भिजेर काम गर्न पाएको र विकास निर्माणका कामहरु अघि बढाएकाले जित्ने आधार बनेको बताएकी छन् ।‘म राष्ट्रियसभामा हुँदा सडक, पुललगायतका कामहरु जनतासंगै जोडिएर गरेँ’,उनले भनिन्‘त्यसैले पनि जनताको माग, विकासको माग रहेकाले पार्टीले टिकेट दिएको छ ।’

अहिले पहिलो पटक चुनाब जित्न कोमल वलीलाई त्यति सहज भने छैन । स्थानीय निर्वाचन २०७९ अनुसार यो निर्वाचन क्षेत्रमा गठबन्धनको मत २९ हजार एकसय २३ छ, भने एमालेको मत १९ हजार ८ सय ८० रहेको छ । दाङ क्षेत्र नं. ३ मा तुलसीपुर उपमहानगरपालिकाको वडा नंं.१,२, १० र ११ तथा बबई गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका पर्छन् । साभारः अग्रिम साप्ताहिक