
दीपक बोहरा
तुलसीपुर, १२ चैत । केही दिन अघि रुकुम पश्चिमको भाइरल पुलबाट हाम फालेर मृत्यु भएका १७ बर्षीय भाइ महेन्द्र वलीको काजकिरिया सकेर तुलसीपुर १९ दोघर्रे स्थित घरमा आएका एक ब्यक्तिले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।
३४ बर्षीय गोपाल वलीले विहीबार आफ्नै श्रीमतिलाई हत्या गरेका हुन् । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० सालघारीबाट भाइको काजकिरिया सकेर बुधबार मात्रै घर आएका उनले विहीबार साँझ साढे ७ बजेतिर श्रीमति २७ बर्षीया कमला वलीको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनीहरुबीच लामो समयदेखि पारिवारिक विवाद थियो । पारिवारिक स्रोतका अनुसार उनीहरुबीच लामो समयदेखि अदालतमा मुद्दा समेत चलिरहेको थियो । गोपाल सरकारी कर्मचारी समेत हुन् ।
उनी जिल्ला भन्दा बाहिर कार्यक्षेत्र भएकाले कहिले काही मात्रै आउथे । उनीहरुबीच अदालतमा मुद्दा चल्न थालेपछि उनी घर आउने क्रम झनै पातलिएको थियो । उनीहरुका करिब ९ बर्षीय छोरा र ६ बर्षीया छोरी छन् । गोपालका एक भाई एक बर्ष अघि मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते छन् ।
उनलाई अझै पनि सञ्चो लागेको छैन ।



लाइभदाङ । १२ चैत्र २०८२, बिहीबार २२:५६ बजे