राप्ती बबई क्याम्पसको प्रथम अनुसन्धानात्मक गोष्ठीको तयारी पूरा

दाङ, ५ चैत । दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा शुक्रबार देखि सुरु हुने ‘प्रथम राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी’ को तयारी पूरा भएको छ । क्याम्पसले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि दुई दिने गोष्ठीका लागि आवश्यक सबै प्राविधिक र व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीले गोष्ठीलाई सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै प्राप्त सुझावहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त बताए ।

क्याम्पस प्रमुख गणेश पार्धेले पश्चिम नेपालमै पहिलोपटक राप्ती बबई क्याम्पसले यस्तो प्रकृतिको प्राज्ञिक गोष्ठी आयोजना गर्न लागेको जानकारी दिए ।


यो गोष्ठीले स्नातकोत्तर तह पूरा गरेका शिक्षक, पत्रकार तथा व्यवसायीहरूलाई एमफिल र पीएचडी अध्ययनतर्फ प्रेरित गर्ने क्याम्पस प्रमुख पार्धेले बताए ।
गोष्ठीमा विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग आबद्ध प्रतिष्ठित प्राध्यापक एवं विज्ञहरूको सहभागिता रहनेछ । अनुसन्धानमा आधारित ज्ञान आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा प्राध्यापक, विद्यार्थी, सञ्चारकर्मी र सरोकारवाला गरी २०० भन्दा बढी सहभागी हुने आयोजक समितिका सह संयोजक एवं उपप्राध्यापक सुर्यप्रसाद शर्माले जानकारी दिए ।

अनुसन्धानात्मक गोष्ठी प्रचार–प्रसार उपसमितिका संयोजक आनन्दा खत्रीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मिनराज वली, मूल आयोजक समितिका संयोजक डा. प्रेम योगी लगायतले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण आयोजक समितिका सदस्य चमन धितालले गरेका थिए ।

शुक्रबार र शनिबार चल्ने यो गोष्ठीले क्याम्पसलाई शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।