मत परिणामले विचलित छैनौँ, संगठन सुदृढीकरणमा लाग्नुपर्छ : योगेन्द्र चौधरी

प्रिया स्मृती गजमेर
लमही ,२६ फागुन ।
नेपाली काङ्ग्रेस दाङ–१ का उम्मेदवार तथा पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामले आफू विचलित नभएको बताउनु भयो ।

नेपाली काङ्ग्रेस दाङ–१ ले आज लमहीमा आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदै निर्वाचन जित हारको प्रक्रिया स्वाभाविक रहेको उल्लेख गर्दै जनताका मूल एजेन्डाप्रति आफू सधैँ उत्तरदायी रहने धारणा राख्नु भयो ।


उहाँले निर्वाचन आउँछन् र जान्छन्, तर जनताका अपेक्षा र मुद्दा सधैँ स्थायी रहने भन्दै ती विषयप्रति आफू निरन्तर प्रतिबद्ध रहने स्पष्ट पार्नु भयो ।

“म थाकेको छैन, हारेको छैन, आगामी निर्वाचनको चिन्ता छ,” चौधरीले भन्नू भयो ।
चौधरीले नेपाली काङ्ग्रेसको संगठनलाई अझ सुदृढ बनाउन वडा तहबाटै सक्रिय भएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ ।