
दाङ,२१ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङका दुईवटा अस्थायी मतदान केन्द्रमा पनि मतदान जारी रहेको छ । तुलसीपुर कारागार र घोराही कारागार कार्यालयमा स्थापना गरिएका अस्थायी मतदान केन्द्रमा मतदाताहरूले मतदान गरिरहेका छन् । अस्थायी मतदान केन्द्रमा तुलसीपुर कारागारबाट १०३ र घोराही कारागार कार्यालयमा ९९ जना गरी दुई सय २ जना मतदाताले मतदान गरेका हुन् ।
तुलसीपुर कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रका निर्वाचन अधिकृत शिवराम अधिकारीका अनुसार अपरान्ह् ४ बजेसम्म १ सय ३ जनाले मतदान गरेका छन् । तीमध्ये ९३ जना पुरुष र एकजना महिला रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सुधार केन्द्रमा रहेका ६६ जना पुरुष र एकजना महिला गरी ६७ जनाले मतदान गरेका छन् । बाँकी निजामती कर्मचारीहरूले आफूलाई पायक पर्ने स्थानमा आएर मतदान गरेको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।
उता घोराही कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा पनि मतदान जारी रहेको छ । सो केन्द्रका मतदान अधिकृत अमृत पौडेलका अनुसार दिउँसो ३ बजेसम्म ९९ जनाले मतदान गरिसकेका छन् । तीमध्ये ९३ जना पुरुष र ६ जना महिलाले मतदान गरेका छन् । साथै कारागारमा रहेका ३० जना कैदीबन्दीले पनि मतदान गरेका छन् भने अन्य मतदाता निजामती कर्मचारीहरू रहेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले मतदानको अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कारागार लगायतका स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरेको छ । अस्थाइ मतदान केन्द्रमा मुख्य रूपमा कारागारमा रहेका कैदीबन्दी, सुधार गृहमा रहेका व्यक्तिहरू, विभिन्न जिल्लाबाट खटिएका निजामती कर्मचारी तथा सुरक्षाकर्मीले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
अस्थायी मतदान केन्द्रमार्फत नियमित मतदान केन्द्रमा पुग्न नसक्ने मतदातालाई पनि आफ्नो मताधिकार प्रयोग गर्ने अवसर प्रदान गरिएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।



लाइभदाङ । २१ फाल्गुन २०८२, बिहीबार १७:२१ बजे