टरिगाउँ विमानस्थलः नाराले थाकेको विकास

दाङ, ११ फागुन ।
दाङको टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलहरूमध्ये पर्छ। तर यसको पहिचान आज इतिहासका कारण होइन, राजनीतिक उपेक्षाका कारण बनेको छ। २०४८ सालदेखि प्रत्येक निर्वाचनमा यो विमानस्थलको नाम गुञ्जिन्छ, तर तीन दशक बितिसक्दा पनि यो अझै नारामै सीमित छ ।

संघीय, प्रदेश र स्थानीय तहका हरेक चुनावमा टरिगाउँ विमानस्थल विस्तार मुख्य एजेण्डा बन्ने गरेको छ। विशेषगरी दाङ क्षेत्र नम्बर २ र ३ का उम्मेदवारहरूले यसलाई विकासको प्रतीकझैँ प्रस्तुत गर्छन्, तर चुनाव सकिएपछि प्रतिबद्धता हराउँछ, योजना हराउँछ, र विमानस्थल फेरि बेवास्ताको घेरामा पर्छ।

२०११ सालमा स्थापना भएको यस विमानस्थलको धावनमार्ग हाल ७५० मिटर मात्र छ। यही कारणले यहाँ नियमित उडान सम्भव भएको छैन। धावनमार्ग १,५०० मिटर पु‍¥याउन सके मध्यम आकारका जहाज अवतरण गर्न सक्ने अवस्था बन्थ्यो, जसले दाङ मात्र होइन, समग्र मध्य–पश्चिम क्षेत्रको आर्थिक, पर्यटन र आपतकालीन सेवामा ठूलो योगदान दिन सक्थ्यो। तर राज्यको प्राथमिकतामा यो कहिल्यै परेन। राजनीतिक दलका नेताहरूले एक–अर्कालाई दोष थोपर्ने परम्परा भने छ। कसैले केन्द्र सरकारको बेवास्ता देखाउँछन्, कसैले कर्मचारीतन्त्रलाई दोष दिन्छन्। तर जनताका लागि परिणाम शून्य छ। यही कारण जनतामा निराशा र आक्रोश बढ्दै गएको छ। तीन दशकसम्म उही नारा, उही प्रतिबद्धता र उही असफलता दोहोरिनु लोकतन्त्रकै कमजोरीको सूचक हो।


आज पनि मौसम खराब हुँदा टरिगाउँमा जहाज अवतरण गर्न सक्दैन। नियमित उडान नहुँदा यात्रुहरु भैरहवा वा नेपालगञ्ज जान बाध्य छन् । यसले समय, खर्च र जोखिम सबै बढाएको छ। यस्तो अवस्थामा टरिगाउँ विमानस्थललाई केवल राजनीतिक भाषणको विषय बनाइराख्नु गम्भीर गैरजिम्मेवारी हो।

अब टरिगाउँ विमानस्थल नाराको विषय होइन, नीतिगत निर्णयको विषय बन्नुपर्छ। स्पष्ट कार्ययोजना, सुनिश्चित बजेट र समयसीमा सहितको प्रतिबद्धता आवश्यक छ। नभए, आगामी निर्वाचनमा फेरि उही नारा लाग्ला, तर दाङको विकास उही धावनमार्गजस्तै छोटो नै रहनेछ।