
आलोक भावुक
गढवा, २२ माघ ।
गढवा गाउँपालिका वडा नम्बर ४ स्थित अजगढवामा दूध सङ्कलन तथा बिक्री उपकेन्द्रको आज बिहिबार उद्घाटन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उपकेन्द्रको उद्घाटन गरेका हुन।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पोख्रेल प्रमुख अतिथि रहेका थिए भने वडा नम्बर ४ का अध्यक्ष हरिभगत चौधरी र वडा नम्बर ५ का अध्यक्ष लेखबहादुर थापा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दूध उत्पादनमा आधारित स्थानीय किसानको आम्दानी वृद्धि गर्न गाउँपालिका निरन्तर लागिपरेको बताए। उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेको दूध सहज रूपमा बिक्री गर्न पाउने वातावरण सिर्जना गर्नु नै हाम्रो लक्ष्य हो। उपकेन्द्र सञ्चालनसँगै किसानले उचित मूल्य पाउनेछन् र स्थानीय अर्थतन्त्र थप सबल बन्छ।”
गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा प्रवर्धित श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत सरकारी दररेटमा दूध खरिद कार्यको शुभारम्भ गरिएको हो। हाल गढवा बजारमा रहेको मुख्य केन्द्रमा दैनिक करिब १ हजार लिटर दूध सङ्कलन हुँदै आएको छ। वडा नम्बर ४ र ५ लाई केन्द्रबिन्दु मानेर अजगढवामा उपकेन्द्र स्थापना गरिएको हो भने वडा नम्बर १, २ र ३ लाई समेट्ने गरी गढवा –२ पचहियामा अर्को उपकेन्द्र उद्घाटनको तयारी थालिएको जनाइएको सहकारी संस्था लिमिटेडकी अध्यक्ष सोभा रावत श्रेत्रीले जानकारी दिए।
भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले सहकारीमार्फत दूध सङ्कलन र बजार व्यवस्थापनलाई व्यवस्थित बनाइँदै लगिएको बताए। उहाँले भन्नुभयो, “दूध उपकेन्द्र विस्तारले किसानको पहुँच नजिकै सेवा पुर्याउनेछ। यसले उत्पादन बढाउने मात्र नभई महिलाको आर्थिक सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ।”
कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य कौशिला देवी विश्वकर्मा, लुम्बिनी विशिष्टकृत सङ्घ लिमिटेडका महाप्रबन्धक अर्जुन अधिकारी, दोर्णराज ढकाल, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाका सञ्चालक समितिका सदस्य जीवा सुनार र गीता यादव, व्यवस्थापक रम्भुनाथ चौधरी, भिटा परियोजनाका सामुदायिक सहजकर्ता बाबुराम यादव, माया चौधरी, स्थानीय किसान तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण भिटा परियोजना कार्यक्रमका सामुदायिक सहजकर्ता कैलाश चौधरीले गरेका थिए।



लाइभदाङ । २३ माघ २०८२, बिहीबार २१:५४ बजे