निजि छोडेर सामुदायिक विद्यालयमा भर्ना

तुलसीपुर,१४ जेठ ।
पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजि विद्यालय छोेडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको संख्या बढिरहेको छ । दाङको राप्ती गाउँपालिका स्थित सर्वोदय मावि सिसहनियामा यस बर्ष मात्रै दुई सय नयाँ विद्यार्थी थपिएका छन् । ति मध्य अधिकांस निजि विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्द बहादुर केसीले बताउनुभयो । अंग्रेजी माध्यामबाट कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको उहाँले बताउनुभयो ।

त्यस्तै राप्ती गाउँपालिका वडा नं.४ स्थित जनज्योति आधारभूत विद्यालयमा पनि निजि विद्यालय छोेडेर भर्ना भएका छन् । प्रधानाध्यापक कुलराम जैसीका अनुसार ४६ जना नयाँ विद्यार्थी थपिएका छन् । सोही विद्यालयमा नर्ससी–१ र नर्सरी २ पनि सञ्चालनमा छ । त्यसले गर्दा पनि विद्यार्थीको आकर्षण बढेको छ ।

नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका १ मा पनि निजि विद्यालयबाट भर्ना हुन विद्यार्थी आएका छन् । प्रधानाध्यापक लोकेन्द्र केसीका अनुसार ८० जना निजि विद्यालयबाट मात्रै भर्ना भएका छन् ।


त्यस्तै राप्तीको आदर्श नमूना माविमा प्रत्येक कक्षामा ५० जना थप नयाँ विद्यार्थी आएका छन् । प्रधानाध्यापक किरन पोख्रेलका अनुसार अहिले सोही विद्यालयमा दुई हजार एक सय विद्यार्थी छन् । सोही विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुन्छ ।

यी त केही उदाहरण मात्रै हुन्, पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढि रहेको छ । अंग्रेजी माध्यममा पठन–पाठन हुन थालेपछि यसरी विद्यार्थीको संख्या बढिरहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो । सामुदायिक विद्यालयले उचित ब्यबस्थापन गरेपछि विद्यार्थीको संख्या बढ्ने उहाँको भनाई छ । राप्ती गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सरकारी विद्यालयका शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय गरेको छ ।

सोही अनुसार पालिका अध्यक्ष प्रकाश विष्ट, शिक्षा शाखा प्रमुख विश्वास विकलगायतले आफ्ना सन्तालानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ । सामुदायिक विद्यालयको अबस्था सुधार गर्न स–साना कुरामा मात्रै ध्यान दिन सकेमा निजि भन्दा राम्रो हुने पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले राप्तीका सामुदायिक विद्यालय सुधार अभियानलाई अगाडी बढाएको समेत बताउनुभयो ।“हामी सबै लाग्यौं भने सामुदायिक विद्यालयको शिक्षा सुधार हुन सक्छ”,उहाँले भन्नुभयो“त्यसैले यस बर्षदेखि सामुदायिक विद्यालय सुधार अभियानमा लागेका छौं ।” साभारः अग्रिम साप्ताहिक