
दीपक बोहरा
दाङ (तुलसीपुर), ८ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.३ निवासी विष्णु शर्माले ब्यबसायिक रुपमा जर्सी गाई र भैसी पालन गरेर मासिक एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्दै आउनु भएको छ । उहाँले अलिहे १३ वटा गाई र १२ वटा भैसी पालन गर्नु भएको छ । स्वदेशमै केही गरौं भनेर सुरु गरेको ब्यबसायबाट आम्दी लिदै आएको उहाँ बताउनुहुन्छ ।“स्वदेशमै केही गरौं भनेर फर्म खोलेको हुँ”,उहाँले भन्नुभयो“खर्च कटाएर अहिले मासिक एक लाखदेखि डेढलाखसम्म आम्दानी हुन्छ ।”
दैनिक ७५ लिटरसम्म दुध उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । हाल बजारमा ९५ रुपैँया लिटर दूध विक्री गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार दूधलाई बजारीकरण गर्न खासै समस्या नभएपनि सरकारले ध्यान भने दिनुपर्ने अबस्था आएको छ ।“अहिले बजारमा दूध बेच्नलाई समस्या त छैन”,उहाँले भन्नुभयो“तर, पनि बास्तविक किसाले बजार मूल्य भने पाउन सकेको अबस्था छैन, यसमा सरकारले ध्यान दिनुपर्छ ।” उहाँले २०७७ सालदेखि यसरी गाई र भैसी पालन सुरु गर्नुभएको हो । हाल ९ वटा गाई र ५ वटा भैसीले नियमित दूध दिदै आएका छन् ।
१३ लाख लगानी गरेर गोठ तयार गरेको तथा १३ लाख जति लगानी गरेर गाई तथा भैसी खरिद गरेको उहाँले बताउनुभयो । तर,त्यो लगानी उठाईसकेको शर्माको भनाई छ । साथै उहाँले गाइभैसीको मल समेत विक्री गर्दै आउनु भएको छ । प्रत्येक टिप्परको ३० हजार रुपैँयाका दरले विक्री गर्ने गरेको उहाँले बताउनुभयो । यसरी ब्यबसाय गर्नेहरुका पशुलाई निःशुल्क बीमा गर्ने, भकारो सुधार कार्यक्रम बास्तविक किसानसम्म पुग्नु पर्ने तथा पशु एआई गर्दा पनि सरकारले बास्तविक कृषकलाई दिनुपर्ने उहाँको भनाई छ । उहाँले शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर यसरी ब्यबसाय गर्नुभएको हो ।



लाइभदाङ । ९ माघ २०८२, बिहीबार ०७:४७ बजे