लायन्स क्लब अफ राप्ती क्यापिटलद्वारा दुई अस्पताललाई वाटर डिस्पेन्सर सहयोग

तुलबहादुर कँवर मगर
मसुरिया, २९ पुस।
दाङको राप्ती गाउँपालिकामा क्रियाशील सामाजिक संस्था लायन्स क्लब अफ राप्ती क्यापिटलले गाउँपालिकाभित्र रहेका दुई वटा सरकारी अस्पताललाई वाटर डिस्पेन्सर उपकरण सहयोग गरेको छ।

क्लबले मंगलबार आयोजित एक कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित भालुबाङ अस्पताललाई १ वटा तथा वडा नं. ५ कालापानीमा रहेको राप्ती आधारभूत अस्पताललाई २ वटा गरी कुल ३३ हजार रुपैयाँ बराबरका ३ वटा वाटर डिस्पेन्सर उपकरण हस्तान्तरण गरेको हो।

उपकरण हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा लायन्स क्लब अफ राप्ती क्यापिटलका अध्यक्ष होमप्रसाद शर्मालगायतले भालुबाङ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। आकाश बेल्वासे र राप्ती आधारभूत अस्पतालका प्रतिनिधि जनस्वास्थ्य निरीक्षक पदमप्रसाद पौडेललाई वाटर डिस्पेन्सर उपकरण प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले स्वास्थ्य संस्थामा स्वच्छ तथा सुरक्षित खानेपानीको व्यवस्था अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले वाटर डिस्पेन्सरको प्रयोगले अस्पतालमा उपचाररत बिरामी तथा सेवाग्राहीलाई तातो र चिसो पानी सहज रूपमा उपलब्ध हुने बताउँदै यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गर्नुभयो। साथै सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर जनहितका कार्य गर्दै आएको लायन्स क्लब अफ राप्ती क्यापिटलको उनले प्रशंसा गरे।


लायन्स क्लब अफ राप्ती क्यापिटलका अध्यक्ष होमप्रसाद शर्माले स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा क्लबले निरन्तर योगदान दिँदै आएको बताउनुभयो। आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।

त्यसैगरी जोन फाइभ चियर पर्सन सहाना श्रेष्ठले सामाजिक संस्थाहरूको सहकार्यबाट समुदायमा सकारात्मक परिवर्तन सम्भव हुने बताउँदै यस्ता मानवीय सहयोग कार्यक्रमले समाजप्रति उत्तरदायित्व बोध गराउने उल्लेख गरे ।

यसैबीच, क्लबले केही हप्ता अघि आयोजना गरेको चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ। प्रतियोगितामा पब्लिक एजुकेसन एकेडेमी लालमटियाका ओम गुप्ता प्रथम, लिटिल एन्जेल एकेडेमी भालुबाङकी रश्मी केसी द्वितीय तथा पब्लिक एजुकेसन एकेडेमी लालमटियाकै सफल बिसी तृतीय भएका थिए।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित चित्रकलामा प्रयोग हुने गुणस्तरीय सामग्री पुरस्कार स्वरूप प्रदान गरिएको क्लबले जनाएको छ।