रास्वपाबाट उम्मेदवारको आवेदन दिएका हरि रिजालका एजेण्डा के छन् ?

तुलसीपुर, २९ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदारकालागि आवेदन दिएका तुलसीपुर निवासी हरि रिजालले आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । उनले आफू उम्मेदवार भएर यस क्षेत्रबाट निर्वाचित भएपछि गर्ने कामको बारेमा एजेण्डा सार्वजनिक गरेका हुन् । उनी दाङ ३ वाट उम्मेदवारकालागि पार्टीमा आवेदन दिएका ब्यक्ती हुन् ।
यस्ता छन्, उनका एजेण्डा
उनले आफू विगत २७ वर्षदेखि आफ्नै भूगोललाई कर्मथलो बनाएर आफ्नो गाउँ–ठाउँको माटोको सुगन्धलाई आत्मसात् गर्दै केही गरौँ र गर्नुपर्छ भन्ने अठोटका साथ निरन्तर लागिरहेको बताएका छन् । उनले दाङको पश्चिम क्षेत्रलाई चलायमान र गतिशील बनाउँदै, नयाँ कार्य, समाज विकास र परिवर्तनको बाटोमा अनवरत संघर्षरत रहेको बताएका छन् । उनले यो भूगोललाई नजिकबाट चिनेको, बिगत १० बर्ष देखि यो देशमा पुराना राजनैतिक शक्तिको बिकल्पमा नयां बैकल्पिक शक्ति निर्माणको एक अथक अभियन्ता भएको समेत दावी गरेका छन् ।

उनले राजनीति पद, पहुँच वा सौदाबाजीका लागि नभई देशको बदलिँदो चेतना, जेन–जि आन्दोलन र नागरिक अपेक्षाको प्रतिनिधित्व गर्न आएको बताएका छन् ।
उनले पुराना अभ्यासबाट नभई नयाँ मूल्य, नयाँ जवाफदेहिता र परिणाममुखी राजनीतिबाट देश बनाउने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् ।


उनले भाषणभन्दा सेवाबाट चिनिएको व्यक्ति भएको, संकटमा देखिने होइन, सधैं समुदायसँग रहने अभ्यास रहेको, किसान, युवा, व्यवसायी, महिला र विपन्न वर्गका समस्या आफ्नै अनुभवबाट बुझेकाले पनि उम्मेदवार बन्न योग्य रहेको बताए ।
साथै उनले आफूले जितेपछि जनताको करको एक–एक रुपैयाँको सार्वजनिक हिसाब दिने, भ्रष्टाचारमा शून्य सहनशीलता, युवालाई रोजगारी, किसानलाई बजार, स्वास्थ्य र शिक्षा व्यापार नभई अधिकार दिने, पार्टीको निर्णय, आचारसंहिता र सामूहिक नेतृत्वलाई निःशर्त सम्मान गर्ने,टिकट पाए पनि, नपाए पनि पार्टी निर्माणमा निरन्तर योगदान गर्ने समेत उनले बताए ।
उनले म उम्मेदवार बन्न नभई रास्वपाको मूल्य जिताउन अघि बढेको समेत उनले बताए । उनले जिम्मेवारी पाउँदा पनि इमान नबेच्ने ग्यारेन्टी दिन सक्ने समेत बताए ।