
दाङ, २६ पौष ।
राजा पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मात्र होइन, यही दिनलाई नेपालमा ‘राष्ट्रिय एकता दिवस’ का रूपमा मनाउने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ । नेपाल गणतन्त्रात्मक राज्य बनेपछि बेलाबखत पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने कि नमनाउने भन्ने विषय विवादको केन्द्रमा रहँदै आएको छ । तर राष्ट्रिय दिवसलाई नै विवादको विषय बनाइनु राष्ट्र र राष्ट्रियताप्रतिको दृष्टिकोण कमजोर हुनुको संकेत हो ।
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ राप्रपाको तर्क स्पष्ट छ नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन्, त्यसैले उनको सम्झनामा पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउनुपर्छ । यस दृष्टिकोणलाई विभिन्न संघ–संस्था, स्वतन्त्र नागरिक र बौद्धिक वृत्तले पनि समर्थन गर्दै आएका छन् ।
वास्तवमा ‘राष्ट्रिय दिवस’ भन्नाले राष्ट्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित, साझा इतिहास, पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने दिनलाई जनाउँछ । यस्तो दिवस राजनीतिक मात्र होइन, अझ गहिरो रूपमा भावनात्मक र पहिचानसँग जोडिएको हुन्छ । पृथ्वीनारायण शाहप्रति सम्मान, सद्भाव र अपनत्व अभिव्यक्त गर्दै सबै नागरिकलाई एकतामा बाँध्ने उद्देश्यले राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सबै जनताको समान आकांक्षा प्रतिबिम्बित गराउने र साझा राष्ट्रिय चेतनालाई मजबुत बनाउने माध्यमका रूपमा राष्ट्रिय दिवसको महत्व अत्यन्तै ठूलो हुन्छ । तर दुर्भाग्यवश, यही विषयलाई लिएर राजनीतिक दलहरूबीच ईगो र वैचारिक टकराव देखिएको छ ।
पौष २७ गते सबै नेपालीलाई सैद्धान्तिक र भावनात्मक रूपमा प्रतिनिधित्व गर्न सके मात्र राष्ट्रिय एकता दिवस सार्थक हुन्छ । आजसम्म यस विषयमा स्पष्ट र साझा धारणा नबन्नु नै बहस र विवादको मुख्य कारण हो । तर इतिहास र यसको सान्दर्भिकता गहिराइमा हेर्ने हो भने यसमा विवाद गर्नु पर्ने खासै कारण देखिँदैन ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ मान्ने विषयमा आज पनि बहस चलिरहेको छ । स–साना राज्यहरूलाई एकीकृत गरी विशाल नेपालको निर्माण गर्ने ऐतिहासिक भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाह नै हुन् भन्ने बलियो आधार हुँदाहुँदै पनि राज्यस्तरबाट उनलाई राष्ट्र निर्माताको सम्मान दिन कञ्जुस्याइँ गरिएको देखिन्छ । पाठ्यपुस्तक र इतिहासमा राष्ट्र निर्माता भनेर उल्लेख गरिए पनि व्यवहारमा राज्यको दृष्टिकोण अस्पष्ट छ ।
विश्व राजनीतिक इतिहास हेर्ने हो भने उपनिवेशबाट देशलाई मुक्त गराउने वा स–साना राज्यहरूलाई एकीकरण गरी राष्ट्र निर्माण गर्ने व्यक्तिहरूलाई सम्बन्धित देशले राष्ट्र निर्माताको रूपमा सम्मान दिएको पाइन्छ । उनीहरूको योगदान अमर राख्न स्मारक, संस्था, शहरहरूको नामकरण गरिन्छ, मुद्रा नोटमा तस्वीर अंकित गरिन्छ । यसले भौतिक शरीरभन्दा पर उनीहरूको ऐतिहासिक योगदानलाई जीवित राख्ने काम गर्छ ।



लाइभदाङ । २६ पुष २०८२, शनिबार ०८:२३ बजे