शिक्षक सेवा आयोगले गेसपेपर, गाइड, कोचिङ पढाउनेलाई विज्ञको रुपमा नलिने

काठमाडौं ७ माघ ।

शिक्षक सेवा आयोगले गेसपेपर, गाइड वा पाठ्यक्रमसँग मिल्दोजुल्दो पुस्तक लेख्ने तथा कोचिङ कक्षा पढाउने व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको छ ।

शिक्षक सेवा आयोगले आगामी चैतमा हुने शिक्षक पदको परीक्षाका लागि प्रश्नपत्र बनाउँदा, उत्तरपुस्तिका जाँच्दा, अन्तर्वार्ता लिँदा त्यस्ता व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको आयोगका अध्यक्ष मधु रेग्मीले बताए ।

उनले भने, ‘हाम्रो कोड अफ कन्डक्ट अनुसार गेस पेपर, गाइड, कोचिङ कक्षा लिने व्यक्तिहरुलाई विज्ञको रुपमा छनोट नगर्ने निर्णय गरिएको हो ।’

आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।

शिक्षक सेवा आयोगले माध्यामिक, निम्न माध्यामिक, प्राथमिक तहमा शिक्षक पदमा दरबन्दी खोलेसँगै शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुनुका साथै तयारी कक्षाको लागि आवश्यक सामग्री, परीक्षा सहयोगी पुस्तिका जस्ता सामग्री बजारमा पाइन थालेका छन् ।

अध्यक्ष रेग्मीले भने, ‘यस्ता कार्यमा सहभागी व्यक्तिलाई विज्ञको रुपमा बोलाउँदा फेयर प्ले नहुने जोखिम हुने भएकोले नबोलाउने नीति लिएका हौं ।’


तीन तहको शिक्षक पदमा दुई लाख बढीको आवेदन

शिक्षक सेवा आयोगले विभिन्न समयमा तीन तहको १७ हजार २३३ शिक्षक पदका लागि खुलाएको आवेदनमा दुई लाख बढीको आवेदन परेको छ ।

आयोगले मंसिर २९ गते खुलाएको मावि तहको एक हजार ५४२ दरबन्दीका लागि साढे ३६ हजार आवेदन परेको आयोगले जानकारी दिएको छ । निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८५ हजार आवेदन परेको छ । यही १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने छ ।

त्यस्तैगरी प्रावि तहमा आयोगले पुस १४ गते १३ हजार ९३ जनाका लागि खुलाएको विज्ञापनमा ९१ हजार आवेदन परेको आयोगले जानकारी दिएको छ । प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ ।

आयोगले निमावि तहमा आवेदन दिने उम्मेद्वारको संख्या एक लाख र प्रावि तहको शिक्षक पदको लागि आवेदन दिने उम्मेद्वारको संख्या सवा एक लाख पुग्ने अनुमान गरेको जनाएको छ ।

आयोगका अध्यक्ष रेग्मीले भने, ‘अझै समय भएकोले निमावि तहमा एक लाख र प्रावि तहमा सवा एक लाख उम्मेद्वारले आवेदन दिने हाम्रो अनुमान हो ।’