दंगीशरणका शिक्षकहरूका लागि ८ दिने एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम सम्पन्न

दंगीशरण, २० पुस ।

दंगीशरणका शिक्षकहरूका लागि ८ दिने एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ। दंगीशरण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा बदलिँदो कथाहरू नेपालको सहकार्यमा कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सञ्चालन गरिएको हो। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा तालिमको समापन समारोह सम्पन्न भएको हो।

समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले तालिम लिएर मात्र नपुग्ने र त्यसबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र तालिम सार्थक हुने बताए। संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयहरू अझ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।


उनले शिक्षाको जग प्राथमिक तह भएकाले यस तहलाई बलियो बनाउनु अत्यन्त आवश्यक रहेको बताए। शिक्षकलाई बलिरहेको मैनबत्तीसँग तुलना गर्दै, आफू घटेर पनि अरूलाई उज्यालो दिने पवित्र पेशा भएको उल्लेख गरे। तालिममा सिकेका सीप र ज्ञान व्यवहारमा लागू गर्न सहभागी शिक्षकहरूलाई उनले आग्रह गरे। शिक्षकहरूको पेशागत विकासमा यस्ता तालिमहरू फलदायी हुने उनको भनाइ थियो।

तालिम समापन अवसरमा लक्ष्मी नारायण आधारभूत विद्यालय, सलौरा का शिक्षक नन्द खड्का तथा आधारभूत विद्यालय, बाकी बेटारपुरकी शिक्षिका सुनिता न्यौपानेले तालिमबाट प्राप्त सिकाइका अनुभवहरू साझा गरेका थिए।तालिममा दंगीशरण गाउँपालिकाका १५ वटै सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो। बालबालिकालाई कसरी प्रभावकारी रूपमा सिकाउने, उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने तथा जीवनपर्यन्त शिक्षाका आधारहरू निर्माण गर्ने विषयमा तालिम केन्द्रित रहेको सहभागीहरूले बताएका छन । तालिमका प्रशिक्षकहरूमा दिपेन्द्र भट्ट र सुरक्षा भट्टराई रहेका थिए।