कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं, २६ पुस ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले विश्वासको मत दिने निर्णय गरेको बैठकपछि सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

संविधानको रक्षा, केपी ओलीको प्रतिगमनकारी सोचविरुद्व विश्वासको मत दिने निर्णय भएको सहमहामन्त्री यादवले बताए। सरकारलाई समर्थन गरेपनि प्रतिपक्षमै बस्ने कांग्रेसले निर्णय गरेको छ।


बिहान सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले विश्वासको मत दिने प्रस्ताव गरे पनि केही पदाधिकारीले विपक्षमा मत राखेका थिए। पदाधिकारी बैठकले निष्कर्ष निकाल्न नसकेपछि केन्द्रीय कार्यसम्पादन बैठक बसेको थियो।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका थिए। अहिले विश्वासको मत दिने निर्णय सदर गर्न संसदीय दलको बैठक सुरु भएको छ।