
भालुबाङ, ३ पुस ।
दाङको राप्ती गाउँपालिका–२, लालमाटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि रोजगार मेला आयोजना गर्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले माग गरेको छ।
स्ववियू अध्यक्ष विनोद कुमार सोनीले शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप र रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले क्याम्पसको पहलमा विभिन्न संघ–संस्था तथा रोजगारदातासँग समन्वय गरी रोजगार मेला आयोजना गर्नुपर्ने माग गर्दै क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीलाई मागपत्र बुझाउनु भएको हो।
मागपत्रमा रोजगार मेलामार्फत रोजगारदाताहरूसँग क्याम्पसको साझेदारी गरी निश्चित सर्तका आधारमा प्रत्येक वर्ष केही विद्यार्थीलाई रोजगारी तथा तालिमको अवसर प्रदान गर्न सकिने उल्लेख गरिएको छ। यस किसिमको सहकार्यले विद्यार्थीहरूको भविष्य निर्माणमा ठोस योगदान पुग्ने विश्वास स्ववियूले व्यक्त गरेको छ।
स्ववियूका अनुसार रोजगार मेला आयोजना भएमा क्याम्पसको शैक्षिक गुणस्तरमा अभिवृद्धि हुनुका साथै विद्यार्थीहरू अध्ययनमुखी बन्ने, साथै क्याम्पस तथा समाजमा देखिँदै आएको अनावश्यक राजनीतिक हस्तक्षेप क्रमशः न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ।
यस विषयमा क्याम्पस प्रशासनले आवश्यक पहल तथा सहजीकरण गरिदिनुहुन स्ववियूले आग्रह गरेको छ।



लाइभदाङ । ३ पुष २०८२, बिहीबार २२:०२ बजे