भुकम्प पिडितलाई लमही नगरपालिकाले तीन लाख दिने

दाङ, २३ कार्तिक ।
जाजरकोट र रुकुमका भुकम्प पिडितलाई लमही नगरपालिकाले तीन लाख रुपैया राहत स्वरुप उपलब्ध गराउने भएको छ । लमही नगरपालिकाको आज बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता मोहन गिरीले जानकारी दिनु भयो ।

त्यस्तै आज बसेको कार्यपालिका बैठकले नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले काम सम्पन्न नभएको भन्दै लमही नगरपालिका–८ का वडा अध्यक्ष उमेश कुमार खड्का संयोजक रहेको कर्मचारी व्यवस्थापन समितिको पनि तीन महिना म्याद थपिएको छ ।

नदीजन्य पदार्थको अनुगमनलाई तिब्रता दिने, पारदर्शी गराउने, राजस्व चुहावट रोक्न भन्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी संयोजक रहने गरि अनुगमन समिति गठन गरिएको प्रवक्ता गिरीले जानकारी दिनु भयो । लमही नगरपालिका–१ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी र वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी समितिको सदस्य रहनु भएको छ ।


त्यस्तै योजना संसोधन गर्ने, शहरी विकासको योजनाको बारेमा छलफल, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत पत्र उपलब्ध गराउने, गत आर्थिक वर्षको भुक्तानी गर्न बाँकी रहेका र क्रमागत योजनाको बारेमा पनि काम अगाडी बढ्ने भएको छ । लमही नगरपालिकामा रहेको रिक्त पदको पदपूर्तिको लागि प्रदेश लोकसेवा आयोगमा माग गर्ने भएको छ ।

त्यस्तै एम्बुलेन्स सेवा संचालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरिने भएको छ र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई सिफारिस गर्ने विषयमा पनि आज बसेको लमही नगर कार्यपालिका बैठकले निर्णय गरेको बैठक पछि प्रवक्ता गिरीले बताउनु भयो ।