
गढवा, २७ मंसिर ।
गढवा गाउँपालिका–४ मगरौटामा आज विभिन्न राजनीतिक दल परित्याग गरी करिब १५० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।
नवप्रवेशीहरूलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, महासमिति सदस्यद्वय अनुप कुमार थापा र गिरिजादेवी न्यौपाने लगायतका नेताहरूले स्वागत गरेका थिए ।
काङ्ग्रेस प्रवेश गर्नेहरूमा स्थानीय माओवादी नेता तथा कार्यकर्ता हरिपाल यादव, रामपाल यादव, राम किशोर यादव, नेकपा एमालेबाट हरिलाल यादव तथा जनता समाजवादी पार्टीबाट कल्याण सिंह यादव लगायत १ सय ५० जना रहेका छन् । कल्याण सिंह यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीबाट गढवा गाउँपालिका–४ का वडा अध्यक्षका प्रत्याशी रहेका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेस गढवा गाउँपालिका–४ का वडा सभापति प्रदीप केसीको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन वडा उपसभापति रणबहादुर विकले गरेका थिए भने नेपाल तरुण दल गढवा गाउँपालिका–४ का अध्यक्ष अमिन मनिहारले स्वागत मन्तव्य राखेका थिए ।
गढवा गाउँपालिका -४ का निवर्तमान वडा अध्यक्ष तथा काङ्ग्रेस महाधिवेशन प्रतिनिधि गुलाम मोहम्मद जागा मुसलमानको पहलमा नवप्रवेशीहरुले पार्टी प्रवेश गरेका थिए ।



लाइभदाङ । २८ मंसिर २०८२, शनिबार २०:३२ बजे