पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

दीपक बोहरा
दाङ, २४ मंसिर ।
दाङ तुलसीपुर ६ निवासी २८ बर्षीय निरज चौधरीको हत्याको मुख्य अभियुक्त महावीर चौधरी फरार रहेका छन् । ५१ बर्षीय महाविर पनि तुलसीपुर ६ निवासी नै हुन् । चौधरीको आईतबार विहान ११ बजे राजापुर नगरपालिका ४ बर्दिया स्थित‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’मा गोली प्रहार गरि हत्या गरिएको थियो ।

त्यसको मुख्य अभियुक्त महाविर नै रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए । त्यो रेष्टुरेन्ट राजापुर नगरपालिका ४ बर्दिया निवासी रामकुमारी थारुको नाममा रहेपनि महाविरसहितका ब्यक्तीको सेयर लगानी रहेको छ । रामकुमारी महाविरकी साली नाता पर्छिन ।

निरजमाथि गोली प्रहार पस्चात उपचारकालागि नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो । यद्यपी नजिकै बर्दिया अस्पताल पनि थियो । निरजलाई नेपालगञ्ज उपचारकालागि लगिए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटना पश्चात रामकुमारी सहित केहीलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ । हत्याका आरोपी महाविर भने निरजलाई नर्सिङ लैजानकालागि रामकुमारीलाई अह्राएर फरार रहेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक कार्कीले बताए ।


निरज महाविरका नाती पर्छन् । उनीहरु लामो समय एउटै रुममा समेत बसेका छन् । उनीहरुबीच लेनदेन रहेको हुन सक्ने अनुमान गरिएको छ । महाविरले अबैद्य बाटो हुँदै अमेरिका पठाउने काम गर्ने गरेको स्रोतको भनाई छ । उनी प्रायः अमेरिका आवतजावत गरिरहन्छन् । प्रहरीले उनको भिसा,पासपोर्टलगायतका सामग्री वरामद गरेको छ ।

निरज किन गएका थिए बर्दिया ?
प्रहरीका अनुसार निरज करिब २ बर्षदेखि बर्दियामै बस्थे । उनले महाविरको सहोदर दाई समेत रहेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको जग्गामा खोलिएको पोल्ट्री फर्म रेखदेख गर्ने गर्थे ।

यस अघि मुख्यमन्त्री चौधरीकी बहिनी विजयाले रेखदेख गर्ने गरेको भएपनि उनले छोडेपछि निरजलाई बर्दिया लगिएको थियो । निरजको हत्या गरिएको रेष्टुरेन्ट पनि पोल्टिफर्मसंगै सटेको थियो । महाविर तुलसीपुरमा पनि बिभिन्न ब्यबसायमा संलग्न थिए ।