सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

तुलसीपुर, १४ मंसिर ।
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सल्यानको त्रिवेणी गाउँपालिका–३ निवासी २२ वर्षीय होमबहादुर बिष्ट र पछाडी सवार सोही ठाउँ निवासी १६ वर्षीय दुर्गा बहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरिक्षक पुर्ण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालकको टाउकोमा चोट लागेको छ भने दाहिने खुट्टा छुडिएकाले अवस्था गम्भिर छ । साथै पछाडि सवार बुढाथोकीको दाहिने हात तथा शरीरका विभिन्न भागमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ ।


राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुरबाट श्रीनगरतर्फ जादै गरेको रा ६ प ७१९१ नम्बरको मोटरसाइकल आज दिउँसो करिब साढे १ बजेको समयमा सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको हो । दुवै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ । चालकसँग सवारी चालक अनुमति पत्र लाइसेन्स रहेको र मापसे नगरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनास्थल प्रहरी चौकी कपुरकोटबाट करिब ४ किलोमिटर दक्षिणतर्फ रहेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।