बबई नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु

तुलसीपुर, १३ मंसिर ।
दाङको बबई नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–११ कटाह निवासी १३ बर्षीय निरज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार दंगीशरण गाउँपालिका वडा नम्बर ३ को पदमपुर र वडा नम्बर १ बाँकीको सिमानामा पर्ने बबई नदिमा माछा मार्ने क्रममा आज दिउँसो पौने २ बजेको समयमा निरजलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा सवा २ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बालक सँगै माछा मार्न दंगीशरण–३ चखौरा निवासी ३५ बर्षीय सरोज चौधरी, सोही ठाउँका २९ बर्षीय रोहित चौधरी, ३२ बर्षीय प्रदिप चौधरी र ३० बर्षीय जिवन चौधरी गएका थिए । उनीहरुमध्य ३ जनालाई नियन्त्रणमा लिएको र अर्का एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर–११ कटाह स्थायी घर भएका बालक दंगीशरण–३ चखौरास्थित आफन्तको घरमा गएको अवस्थामा बबई नदिमा माछा मार्न गएको बताइएको छ । यद्यबी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।